उर्लाबारी । उर्लाबारी, नगरपालिकाको विपद कोषमा राहत हस्तान्तरण गर्नेबारे अनेरास्ववियूको बैठक चलिरहँदा नगरपालिकाकै मेयरले बैठक विथोलिदिएका छन् ।
सत्तारुढ नेकपा निकट अनेरास्ववियू उर्लाबारी बहुमुखी क्याम्पस कमिटीको बैठकमा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले अवरोध पुर्याएका हुन् ।
बुधबार अनेरास्ववियूका कार्यकर्ता गोपाल निरौलाको उर्लाबारी ४ आइतबारेस्थित घरमा क्याम्पस कमिटीको बैठक राखिएको थियो ।
भेलामा क्याम्पसका स्ववियू सभापति गणेश घिमिरे, उपसभापति हेमन सुब्बा, सचिव सुनिल धिमाल, सदस्य मनिष भण्डारी र निरौला गरी सीमित व्यक्ति सहभागी थिए ।
विहान ११ बजे प्रहरी र अन्य दलबलसहित आएका मेयर फागोले घरमा रहेका मोटरसाइकलको हावा फुस्काइदिनुका साथै हप्कीदप्की गरेर बैठक विथोलेको अनेरास्ववियू उर्लाबारी क्याम्पसका पूर्वअध्यक्ष समेत रहेका निरौलाले बताए । ‘नगरपालिकाको एकद्वार प्रणाली नितिलाई नै सहयोग गर्न छलफलमा जुटेका थियौ’ निरौलाले भने, ‘शुभेच्छुकहरुले उपलब्ध गराएको सामग्री नगरपालिकालाई दिने अवस्था नै रहेन ।’ लकडाउनलाई पालना गर्दै घरमै छललफल गरिएको तर, राजनीतिक पूर्वाग्रहका कारण मेयरले आफुहरुलाई घरमै रहँदापनि धर नदिएको उनको भनाइ छ ।
उता मदन भण्डारी प्रतिष्ठानका अधिकृतसमेत रहेका स्ववियू सभापति घिमिरेले आफुसंग प्रशासनले उपलब्ध गराएको सवारी पास देखाउँदा पनि मेयर फागोले जबरजस्ती टायर पम्चर गराइदिएको आरोप लगाए । यही बेला कांग्रेस निकट नेविसंघले विद्यार्थीलाई सहयोग गर्ने नाममा एकद्वार प्रणालीविपरित राहत संकलन गर्ने, भेला र अन्य गतिविधि गर्न मेयरले उक्साएको भन्दै लकडाउनप्रति मेयरले दोहोरो मापदण्ड देखाएको अनेरास्ववियूले आरोप लगाएको छ ।























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।