कोरोना भित्रन नदिन म्यादी प्रहरी

विराटनगर । भोजपुरको हतुवागढी गाउँपालिकाले कोरोना भाइरसबाट बच्न म्यादी प्रहरी भर्ना गर्ने भएको छ ।

गाउँपालिका भित्रिने नाकाको सुरक्षा गर्न र आवतजावतलाई नियन्त्रण गर्न निर्वाचनको बेला खटिएका म्यादी प्रहरीलाई स्वयम्सेवकको रुपमा भर्ना गर्ने तयारीसहित गाउँपालिकाले दरखास्त आह्वान गरेको छ ।

गाउँपालिकाले वडा नंं. ६ मा पर्ने सुनबालुवा, लामीबगर, वडा नं. ७ को भँगालेटार, वडा नं. ९ पर्ने मचुवा, सिम्ले र चुहार सीमानाकाबाट बिनाअनुमति हुने आवतजावतलाई रोक्न म्यादी प्रहरी र अवकासप्राप्त सुरक्षाकर्मीलाई स्वयम्सेवकको रुपमा परिचालन गर्ने योजना बनाएको छ । सरकारले लकडाउनको समयमा एक जिल्लाबाट अर्को जिल्ला, एक स्थानीय तहबाट अर्को स्थानीय तह जान रोक लगाएपछि सोको कार्यान्वयन गर्न गाउँपालिकाले म्यादी प्रहरी भर्ना गरेर सुरक्षा दिन लागेको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो ।

गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै म्यादी प्रहरीका लागि इच्छुकले सम्पर्क गर्न सूचना जारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले एक दिने म्याद राखेर मंगलबार सूचना जारी गर्नुभएको हो ।

यसैबीच लकडाउनका बेला बन्द भएको आवागमनलाई ध्यान दिँदै गाउँपालिकाले नियमित औषधि सेवन गरिरहेकाको नामावली सङ्कलन थालेको छ । गाउँपालिका क्षेत्रभित्र रहेका त्यस्ता व्यक्तिको विवरण सङ्कलन गरेर स्वास्थ्य शाखासँगको समन्वयमा औषधि उपलब्ध गराउने गाउँपालिका स्तरीय ‘कोभिड–१९ ¥यापिड रेसपोन्स टीम’ले निर्णय गरेको छ ।

कतिपय औषधि स्थानीय मेडिकलमा पनि नपाइने अवस्थामा ख्याल गर्दै सुगर, प्रेसर, दमलगायतका अन्य बिरामीलाई राहत पुगोस् भन्ने लक्ष्यले उनीहरूले सेवन गरिरहेको औषधि ल्याउन सहजीकरण गरिदिने गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो ।

बुधबार, २६ चैत, २०७६, दिउँसोको ०२:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर