विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले नेपालमा कार्यरत भारतीयसहित विदेशी डाक्टरहरुलाई पनि स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउन माग गर्नुभएको छ ।
नेपालका बिभिन्न अस्पतालमा सयौंको संख्यामा भारतीयसहित बिभिन्न मुलुकका डाक्टरहरु बर्षैअघिदेखि कार्यरत रहेकाले उनीहरुलाई पनि स्वास्थ्य वीमासहित स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउन डा.शर्माले माग गर्नुभएको हो ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथामका लागि स्वास्थ्यकर्मीहरु नै अग्रपंतिमा हुने र उनीहरु उच्च जोखिममा हुने भएकाले स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिलाएर काममा प्रोत्साहन गर्नुपर्ने डा.शर्माको माग छ । ‘कोरोना रोकथाम र संक्रमितसँगको फन्ट लाईनमा डाक्टरहरु नै हुन्छन् । यहाँ स्वदेशी मात्र नभई विदेशी डाक्टरहरु पनि धेरै छन्,’ उहाँले भन्नुभयो, ‘यस्तो बेला स्वदेशी विदेशीवीच फरक नछुट्याई सवै स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाएर प्रोत्साहन गर्नुपर्छ ।!