इटहरी । भारतबाट आएर सुनसरीका दुई मस्जिदमा आश्रय लिएर बसेका २२ विदेशी फेला परेका छन् ।
सुनसरीको हरिनगर गाउँपालिका–१ स्थित जामिया मस्जिद मरकजमा एक सातादेखि इनरुवा, जल्पापुर हुँदै भुटाहा पुगेका भारत मुम्बईका १४ जनालाई सुनसरी प्रहरीले फेला पारेको हो ।
प्रहरीले उनीहरुमा कोरोना सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएकाले मदरसाभित्रै सुरक्षित रूपमा क्वारेन्टाइनमा बस्ने व्यवस्था गरेको छ । उनीहरुको कोरोना परीक्षणको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब पठाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
त्यसैगरी सुनसरीकै इटहरी उपमहानगरपालिका–१८ स्थित जतपुर मस्जिदमा आश्रय लिएर बसेका ८ पाकिस्तानी नागरिकलाई स्थानीवासीको गोप्य सूचनाका आधारमा प्रहरीले फेला पारेको छ । इलाका प्रहरी कार्यालय पकलीको पहलमा उनीहरुको पनि स्वाब परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ ।
स्थानीयवासीले विदेशबाट आउने स्वदेशी तथा विदेशीका बारेमा निगरानी बढाउँदै सूचना सङ्कलन गरी प्रहरीमा जानकारी दिएका हुन् । सुनसरीको नेपाल–भारत सीमानाकाबाट नयाँदिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्थाको आयोजनामा भएको तबलिगी जमातको धार्मिक सभाबाट फर्किएकाहरु लुकिछिपी आएको सूचा आएपनि त्यसको यकिन हुन सकेको छैन ।