उर्लाबारी । मोरङको उर्लाबारी–७ चिउरामिल–आम्बारी–गाईघाट सडक कालोपत्रे हुने भएको छ ।
बिहीबार मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले सडक कालोपत्रेको शिलान्यास गर्नुभएको हो ।
प्रदेश सरकारको १ करोड ३० लाख रुपैयाँ सशर्त अनुदानबाट उर्लाबारी–७ चिउरामिलदेखि बैशाबारीसम्म १२ सय मिटर सडक कालोपत्रे गतवर्ष भएको थियो । यो आर्थिक वर्षमा बैशाबारीदेखि आम्बारीसम्म १५ सय मिटर सडक कालोपत्रेका लागि शिलान्यास गरिएको सांसद लिम्बूले जानकारी दिनुभयो ।
प्रदेश सरकारको रातो किताबमा परेको सडक कालोपत्रे सुरु भएपछि स्थानीयवासी हर्षित बनेका छन् । प्रदेश सरकारको २ करोड लागतमा कालोपत्रेको काम हुने जनाइएको छ । सडक कालोपत्रेको ठेक्का केएन निर्माण सेवा कम्पनी रतुवामाईले पाएको छ ।
सडक कालोपत्रेको शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश सांसद लिम्बूले ठेकेदारले तोकिएकै मितिमा गुणस्तरीय काम गर्नुपर्नेमा जोड दिनुभयो । जनताको गुनासो आउन नदिनेगरी सडक कालोपत्रेको काम पूरा गर्न ठेकेदारलाई उहाँले निर्देशनसमेत दिनुभयो । सडक कालोपत्रे गुणस्तरीय बनाउन स्थानीयबासीले खबरदारी गर्नुपर्नेमा उहाँको जोड थियो ।
ठेकेदार कम्पनीका प्रतिनिधि खेमराज निरौलाले असार १५ भित्रै सडक कालोपत्रेको काम पूरा गर्न प्रतिबद्ध रुपमा लाग्ने बताउनुभयो । सबैको साथ र सहयोग भएको खण्डमा निर्धारित मितिका सम्पन्न गरेर हस्तान्तरण गर्ने उहाँको भनाई छ ।
उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मी भण्डारीले मापदण्ड अनुसारको सडक कालोपत्रे गर्न ठेकेदार पक्ष इमान्दार भएर लाग्नुपर्नेमा जोड दिनुभयो । चिउरामिलदेखि गाईघाटसम्म १०.५४० किलोमिटर सडक कालोपत्रेका लाडि डिपिआर तयार भइसकेको छ । सडक कालोपत्रेका लागि करिब ४० करोड बजेट अनुमान गरिएको छ ।