विवाह कार्डमा उमेर अनिवार्य

विराटनगर । सुनसरीको रामधुनी नगरपालिकाले बालविवाह विरुद्धको अभियानलाई फरक रुपमा सञ्चालन गरेको छ ।

पछिल्लो समय बालविवाह विरुद्धको अभियानमा छापाखाना सञ्चालकहरुलाई पनि समावेश गरिएको छ । उनीहरुकोमा विवाहको कार्ड छपाउन आउनेले अनिवार्य जन्ममिति दिनुपर्ने भएको छ ।

विवाहको कार्डमा बेहुला र बेहुलीको जन्ममिति अनिवार्य गरिएको नगरपालिकाले जनाएको छ । छापाखाना सञ्चालकले हचुवाका भरमा जन्ममिति नराखुन् भनेर प्रमाणित कागजात पनि अनिवार्य गरिएको छ ।

प्रदेश नं. १ को पहिलो बालमैत्री नगर बन्ने अभियानमा रहेको नगरपालिकाले अहिले बालविवाह विरुद्धको विभिन्न अभियानहरु सञ्चालन गरिरहेको छ । यसैक्रममा बालअधिकार समितिको बैठकले विवाह कार्डमा जन्ममिति अनिवार्य राख्नुपर्ने निर्णय गरेको नगर उपप्रमुख सविना चौधरीले जानकारी दिनुभयो ।

जन्ममिति समावेश नगरि विवाहको कार्ड छपाएको पाईएमा छापाखानालाई पनि कारवाही गर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले २०७६ को चैतभित्रमा बालमैत्री नगर बनाउने लक्ष्य लिएको छ । केही ढिलाई भएको अवस्थामा पनि प्रदेश नं. १ को पहिलो बालमैत्री नगर रामधुनी नै हुने नगरपालिकाको दावी छ ।

नगरपालिकाको सम्पूर्ण ध्यान नै बालमैत्री नगरमा केन्द्रित रहेको उपपप्रमुख चौधरीले बताउनुभयो । ९ वटा वडा रहेको रामधुनीका २ वटा वडा बालमैत्री घोषित भईसकेका छन् भने अन्य वडाहरु घोषणाको अभियानमा छन् ।

बालमैत्री नगरका लागि आवश्यक ३९ वटा सूचकहरु पुरा हुँदै गएको नगरका बालमैत्री फोकल पर्सन हर्षलाल चौधरीले बताउनुभयो । नगरपालिकालाई बालमैत्री नगर बनाउने काममा साझा सवालका लागि साझा मञ्च (कोकन) ले पनि सहजीकरण गरिरहेको छ ।

सामान्यतया १८ वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई बालविवाह भनिन्छ । कानुनी रुपमा नेपालमा केटा र केटीको विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ ।

बुधबार, ०५ चैत, २०७६, बिहानको ०८:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर