विर्तामोड । कोरोना भाइरसको संक्रमण फैलन नदिन आवश्यक स्वास्थ्य जाँच व्यवस्थित बनाउनको लागि झापाको मेचीनगर नगरपालिकाले स्वयंसेवक परिचालन गरेको छ ।
नगरभित्रका विभिन्न संघसंस्थाका ४० प्रतिनिधिको टोलीले सोमबारदेखि आलोपालो गरेर बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म भीडभाड व्यवस्थापन गर्ने तथा अनावश्यक रुपमा भारततिर नजान अनुरोध गर्न थालेको छ ।
मेची उद्योग वाणिज्य संघको अध्यक्षतामा नगरपालिकाले विभिन्न संघसंस्थाका प्रतिनिधिसहितको स्वयंसेवक परिचालन समिति गठन गरेको छ । स्वयंसेवकका रुपमा काम गर्नेलाई मेची उद्योग वाणिज्य संले ५ इन्फोरेट थर्मोमिटर (ज्वरो नाप्ने यन्त्र), एप्रोन, मास्क, टोपी र पञ्जाको व्यवस्था गरेको छ ।
संघका अध्यक्ष ऋषि तिम्सिनाका अनुसार दैनिक ४० जनाले चार टोली बनाएर दिनको चार÷चार घण्टा नाकामा बसेर स्वयंसेवक भूमिका निर्वाह गर्नेछन् । टोलीमा उद्योग वाणिज्य संघ, माइती नेपाल, रोटरी क्लब, ट्राभल्स संघ, जेसिज, होटल व्यवसायी संघ, नेपाल रेडक्रस सोसाइटी, नाइटचेस क्लब, मानव बेचबिखन विरुद्धका क्षेत्रमा काम गर्ने सबै संघसंस्थालगायतको सहभागिता छ ।
दैनिक १० हजारभन्दा बढीको संख्यामा अहिले पनि भारततिरबाट नेपाल मान्छेहरु आउँने गरेको बताइएको छ । तर, नाकामा राखेको हेल्थ डेस्कमा रहेका ५ जना स्वास्थ्यकर्मीबाट सतर्कता अपनाउन र ज्वरो नाप्न सम्भव नभएपछि स्वयंसेवक परिचालन गरिएको हो ।
अहिले मेची उद्योग वाणिज्य संघले खरीद गरेर ल्याएको पाँच र सहायता कक्षमा नगरपालिकाले दिएको तीन इन्फोरेट थर्मामिटरले चेकजाँच थालिएको छ । त्यसले अपुग भएपछि सिलगुढीबाट १५ थान थर्मामिटर मगाएको संघका अध्यक्ष तिम्सिनाले जानकारी दिनुभयो ।
मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले पूर्वी नाका प्रदेश नं १ कै मुख्य नाका भएको हुँदा उच्च सतर्कता अपनाउन थालिएको बताउनुभयो । नगरपालिकाले आवश्यक सामग्री खरीद गरेर उपलब्ध गराउने बताउँदै उहाँले अतिआवश्यक कामबाहेक भारततिर ओहोरदोहोर गर्नेलाई पनि रोकिने जानकारी दिनुभयो ।