कोरोना रोक्न सतर्कता

विर्तामोड । विश्वभर कोरोना भाइरस महामारीको रूपमा फैलिरहेको भन्दै यसको नियन्त्रण तथा रोकथामका लागि झापाको काँकडभिट्टा, भद्रपुर, केचना, कुमरखोद र गौरीगञ्ज नाकामा उच्च सतर्कता अपनाइएको छ ।

झापासँग जोडिएका नाकाहरूमा भारतबाट नेपाल प्रवेश गर्ने दुबै देशका नागरिकको स्वास्थ्य परीक्षण गर्दै कोरोना भाइरससम्बन्धी सचेतना दिइरहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालमा मात्र नभई झापाका यी नाकासँग जोडिएको भारतको पश्चिम बङ्गालको पानीटंकी, गलगलिया, विहारको कादोगाँउ, डिगलबैंक र बैरिया नाकामा पनि भारतीय पक्षले नागरिकको स्वास्थ्य परीक्षण गर्दै कोरोना भाइरससम्बन्धी सचेतना गराउने गरिएको छ । काँकडभिट्टा र भद्रपुर नाकामा राखिएको हेल्थ डेस्कमा बसेका स्वास्थ्यकर्मीले भारतबाट नेपाल आउने नागरिकको ज्वरो नाप्ने ‘थर्मल गन’ प्रयोग गरी स्वास्थ्य जाँच गरिरहेका छन् ।

काँकडभिट्टा नाकामा नेपाल भित्रिने नागरिक ठूलो संख्यामा भित्रिने गरेको स्वास्थ्य जाँचमा खटिएका स्वास्थ्यकर्मीसँग एउटा मात्र थर्मल गन रहेकोले भीड व्यवस्थापनमा समस्या परेको छ । पानीट्यांकी नाकाबाट भित्रिने नागरिकहरूले लाइनमा बसेर स्वास्थ्य जाँच गरिरहेका छन् । जाँचको क्रममा उच्च ज्वरो देखिएका भारतीय नागरिकलाई काँकडभिट्टाबाटै फिर्तासमेत गराउन थालिएको छ ।

भद्रपुरमा पनि लाइनमा बसाएर एउटा थर्मल गन प्रयोग गरी स्वास्थ्य जाँच गरिँदैछ । भद्रपुरसँग जोडिएको विहारको गलगलिया नाकामा एसएसबीसँगै बसेका स्वास्थ्यकर्मीले थर्मल गन प्रयोग गरेर स्वास्थ्य परीक्षण गरिरहेका छन् । गलगलिया जाने पश्चिम बङ्गालतर्फ एसएसबी पोस्टमा चाहिँ बङ्गाल प्रहरीसहितको स्वास्थ्यकर्मी टोलीले थर्मल गन प्रयोग नगरी सचेतना मात्र दिइरहेको छ ।

कोरोना भाइरसका कारण छिमेकी राष्ट्र भारतले आइतबार मध्यरात १२ बजेदेखि नेपाल र भुटानको सीमा नाका बन्द गर्ने समाचार बाहिरिएपछि जनमासमा नाका ठप्प हुने हल्ला फैलिएको छ । तर, एसएसबी ४१ बटालियन भातगाँउका कमान्डर अञ्जली राउतले सीमा नाका बन्द गर्ने विषयमा हेडक्वाटर रानीडाँगाबाट कुनै आधिकारिक जानकारी नआएको बताउनुभयो ।

बङ्गलातर्फको बाटो जाँदा भारतीय पुलिसले भने नागरिकलाई रोकेर नाका बन्द हुन्छ, र भोलिदेखि नआउनु भनिरहेको स्थानीयले बताएका छ । झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले सीमा नाका बन्द हुने विषयमा कुनै लिखित तथा मौखिक जानकारी नआएको बताउनुभयो ।

आइतबार, ०२ चैत, २०७६, रातीको ११:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर