बेलबारी । मोरङको बेलबारी नगरपालिकाले गरिव तथा असाहय सय परिवारलाई घर बनाईदिने भएको छ । सहारा नेपाल र ह्याविटेड नेपालको सहकार्यमा नगरपालिकाले घर बनाइदिन थालेको हो ।
घर बनाउन बेलबारी ११ बाट सुरु गरिएको छ । आइतबार एक कार्यक्रमबीच वडा नम्बर ११ लक्ष्मीमार्गमा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले घर शिलान्यास गर्नुभएको छ ।
नगरको ५ वटा वडामा पहिलो चरणमा घर बनाइने मेयर सुवेदीले बताउनुभयो । गरिब, असाहय, एकल, दलित तथा पिछडा वर्गहरुलाई घर बनाइदिन थालिएको उहाँले बताउनुभयो ।
लामो समयदेखि घर बनाएर बस्न नसक्ने परिवारलाई पहिलो चरणमा घर बनाइदिन थालेको नगरपालिकाले जनाएको । बेलबारीका १, २, ३, ४ र ११ नम्बर वडामा घर बनाइनेछ । ३ लाख मूल्य बराबरको घर बनाउन लागिएको हो ।
नगरपालिकाको १ लाख ५० हजार, सहारा नेपाल र ह्याविटेड नेपालको १ लाख तथा श्रमदान ३५ देखि ५० हजार रुपैयाँसम्मको लागतमा घरहरु निर्माण गरिनेछ । ११ नम्बर वडामा ३७ वटा घर बनाइने छ भने अन्य ५ वटा वडामा ६३ वटा घर बनाईने नगरपालिकाको कार्यालयले जनाएको छ ।
टिनको छानो भएको तीनकोठे घर निर्माण गर्न लागिएको छ । भुई ढलाई गरेर पक्की पिलर राखेर घर बनाइने नगरपालिकाले जनाएको छ । घर पाउने भएपछि स्थानीयसमेत हर्षित भएका छन् ।
करिब १ महिनाभित्रमा घर बनाई हस्तान्तरण गर्ने सहारा नेपालको छानो कार्यक्रमका कन्ट्रिलिडर टिपी शर्मा कँडेलले बताउनुभयो । विभिन्न स्थानीय तहसँगको साझेदारीमा ६ सय वटा घर निर्माण गरिएको साहारा नेपालका कार्यकारी निर्देशक महेन्द्र गिरीले जानकारी दिनुभयो ।