धरान । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोटरसाइक चोरीका घट्नामा बृद्धि हुँदै गएको छ ।
विगतदेखि नै मोवाइल, विरामीका पैसा चोरी हुने प्रतिष्ठानमा केही समयदेखि पार्किङमा राखेका मोटरसाइकल नै चोरी हुन थालेको छ ।
उदयपुरका एक विरामीको गत फागुन १४ गते प्रतिष्ठानको परिसरभित्र पार्किङमा राखेको मोटरसाइकल हराएको थियो । स १० प ५१८५ नम्बरको पार्किङमा राखेको मोटरसाइकल चोरी भएपछि सम्बन्धिन्त ठाउमा हराएको जानकारी गराएपनि अहिलेसम्म फेला नपरेको पीडित प्रदीप चौलागाइले बताउनुभयो ।
विरामीका आफन्तले राखेका मोटरसाइकल मात्र हैन प्रतिष्ठानभित्रैका चिकित्सकको समेत मोटरसाइकल सुरक्षित चोरी हुने गरेको छ । फागुन ११ गते प्रतिष्ठानका चिकित्स दिपेन्द्र शर्माको ग १२ प १९७९ नम्बरको स्कुटी गाइनो वार्ड अगाडिबाट चोरी भएको थियो । लगत्तै फागुन १६ गते सोही वार्डबाट अर्को को ४ प २५७६ नम्बरको मोटसाइकलसमेत चोरी भएको थियो ।
प्रतिष्ठानको सुरक्षाको जिम्मेवारी लिएको भिआइपी सेक्युरेटिी सर्भिसका निर्देशक टेक लोहनीले भने विरामी तथा विरामीका आफन्तले तोकिएको स्थानबाहिर जथाभावि पार्किङ गर्दा यस्तो समस्या आएको बताउनुभयो । प्रतिष्ठानको सुरक्षाको जिम्मा लिएको १५ दिनमात्र भएको बताउँदै उहाँले अहिले प्रतिष्ठानका चिकित्सक, विरामी तथा विरामीका आफन्तकमा लागि छुट्टाछुछट्टै स्थानमा पार्किङ गर्ने र पार्किङ गरिसकेपछि टोकनको व्यवस्था गरेको जानकारी दिनुभयो ।
प्रतिष्ठानभित्र चोरीका घट्ना बढेपछि धरान प्रहरीले पनि त्यसमा चासो दिँदै सक्रियता बढाएको छ । चोरी भएका धेरै मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाउने र चोरीमा संलग्नलाई कारबाही गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।
माघ ८ गते प्रतिष्ठान हाताभित्रै राखिएको को १७ प २८६१ प्रतिष्ठानकै गाइनो वार्डमा कार्यरत डा.जितेश ठाकुरको मोटरसाइकल चोरी भएपछि धरान प्रहरीले मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको थियो । चोरीमा संलग्न धरान १५ का हितेश भनिने रितेश सुब्बा र धरान ८ कान ठाडे भनिने पवन विश्वकर्मालाई प्रक्राउ गरी कार्बाही चलाएको प्रहरीले जनाएको छ ।