होलीमा मर्यादा उल्लंघन गर्ने पक्राउ

विराटनगर । होली पर्व मनाउने क्रममा अमर्यादित क्रियाकलाप गर्ने २६ जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा उच्छृंखल गतिविधि गर्ने २६ लाई नियन्त्रणमा लिएर २१ जनालाई जमानतमा छाडेको प्रहरीले ५ जना विरुद्ध भने अभद्र व्यवहार मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनुभयो ।

उनीहरुलाई जिल्ला प्रहरीलगायत जिल्लास्थित इलाका प्रहरीमा राखिएको हो । विराटनगर महानगरभित्र उच्छृंखल गतिविधिमा संलग्न १८ र जिल्लाका अन्य ठाउँबाट ८ जनालाई नियन्त्रणमा लिएको थियो । होलीमा उर्लाबारी क्षेत्रमा दुईवटा सामान्य झडपबाहेक जिल्लामा शान्तिपूर्ण रहेको प्रहरीले जनाएको छ ।

होलीमा ट्राफिक नियम उलंघन गर्ने ३ सय ४१ सवारी साधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । महानगर क्षेत्रभित्रबाट ६१ र जिल्लास्थित अन्य क्षेत्रबाट २ सय ८० सवारी नियन्त्रणमा लिइएको छ ।

गतवर्षको तुलनामा यो वर्ष होली सामान्य रहेको थियो । स्थानीय प्रशासनले कोरोना भाइरसको संक्रमणबाट जोगिन धेरै भिडभाडमा नजान र होली नखेल्न सार्बजनिक सूचना गरेकोले होलीमा अघिल्ला वर्षहरु जस्तो उत्साह थिएन । स्थानीय प्रशासनको आग्रहले चोक चोकमा हुँदै आएको होली मिलन कार्यक्रम यसपटक स्थगित गरिएकाले सडकहरु सुनसान जस्तै थियो ।

यसैबीच सुनसरीको धरान उपमहानगरपालिका र इलाका प्रहरी कार्यालयले कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न होलीमा सामूहिक भेला नहुन उर्दी जारी गरेपनि अटेर गर्नेहरुलाई कारबाहीको दायरामा ल्याएको छ । प्रहरीले अरुलाई जबर्जस्ती रंग लगाइदिएको आरोपमा धरान १९ चौकीबारी बस्ने दुई युवतीलाई पक्राउ गरेको थियो ।

कोरोना संक्रमणको जोखिम हुने भएकाले घरैमा आफन्तबीचमा होली खेल्न अनुरोध गर्दै ठूलो जमातमा होली नखेल्न माइकिङ र सार्वजनिक सूचना नै जारी गरेको थियो । त्यसमा अटेर गरेर जबर्जस्ती रंग लगाइदिने कुमारी राई र दिलु गौतमलाई पक्राउ गरेको हो ।

एउटै मोटरसाइकलमा तीनजना चढेर हिँड्ने, हेल्मेट नलगाउने र होलीको बहानामा ट्राफिक नियम उलंघन गर्नेहरुको सवारी साधन जफत गरेको प्रहरीले जनाएको छ ।

बुधबार, २८ फागुन, २०७६, रातीको ०८:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर