इनरुवा । सुनसरीको देवानगंज गाउँपालिकाको श्री माध्यमिक विद्यालयमा वृहत निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बिराटनगरको रेडियो नागरिक १००.४ मेगाहर्जले ६ वर्ष पुरा गरि ७ औं वर्षमा प्रवेश गरेको अवसरमा दुई दिवसीय स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
श्री माध्यमिक विद्यालयमा नागरिक मिडिया प्रा.लि.को आयोजना र देवानगंज गाउँपालिकाको सहजीकरणमा शुक्रबार र शनिबार गरी दुई दिवसीय निःशुल्क स्वास्थ्य शिविर र रत्तदान कार्यक्रम सम्पन्न भएको हो । देवानगंज गाउँपालिकामा वृहत स्वास्थ्य शिविरमा ५ सय ३३ जनाले स्वास्थ्य परीक्षण गराई औषधिसमेत निःशुल्क लिएको नागरिक मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक अरविन्द मेहताले जानकारी दिनुभयो ।
मेहताका अनुसार ग्रामिण क्षेत्रका जनतालाई स्वास्थ्य सेवामा प्रत्यक्ष लाभ दिनका लागि गरिब तथा बिपन्न वर्गका सर्वसाधारणहरुलाई सेवा प्रदान गरेको हो । निःशुल्क स्वास्थ्य शिविरकै अवसरमा २१ जनाले रक्तदानसमेत गरेका थिए ।
शिविरमा यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले ९ प्रकारका स्वास्थ्य सेवा प्रदान गरेका थिए । शिविरमा सुगर टेस्ट ३ सय जनाको, प्रेसर, इसिजी १५ जनाको र प्रयोगशाला सेवा समेत उपलब्ध गराईएको थियो ।