विराटचौक । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले तत्कालीन अनेरास्ववियू (क्रान्तिकारी) का उपाध्यक्ष वेनोज अधिकारीको १८ औं स्मृति दिवस मनाएको छ ।
२०५८ फागुन २४ गते अनेरास्ववियू (क्रान्तिकारी) का तत्कालीन उपाध्यक्ष अधिकारीलाई पक्राउपछि हत्या गरिएको स्थान मोरङको खोर्सानेमा शनिबार स्मृति दिवस मनाइएको हो ।
अधिकारीलाई फागुन २२ गते विराटनगरवाट पक्राउ गरेर दुई दिनपछि हत्या गरिएको थियोे । सुन्दरहरैचा नगरपालिकाको खोर्साने बजार उत्तरमा रहेको जंगलमा अधिकारीको हत्या भएको स्थानमै अनेरास्ववियुले उहाँको सम्झनामा श्रद्धाञ्जली सभा गरेको छ ।
श्रद्धाञ्जली सभामा अनेरास्ववियू नेता सुरेन्द्र बस्नेतले अधिकारीको हत्या भएको स्थानमा वेनोज स्मृति पार्क र सहिद प्रतिमा बनाउने घोषणा गर्नुभयो । बेनोजहरुको वलिदानविना मुलुकमा गणतन्त्रसहितको परिवर्तन सम्भव नहुने उल्लेख गर्दै उहाँले परिवर्तनको पक्षधरहरुले उहाँहरुको योगदान भूल्न नसक्ने बताउनुभयो ।
कार्यक्रममा अनेरास्ववियूका नेताहरु मदन भट्टराई, भाष्कर खनाल, डम्वर अधिकारी, खगेन्द्र सुवेदी, जिसस न्यौपाने, ताजिम अन्सारी, सन्तोष घिमिरे, टेकेन क्षेत्रीलगायतको उपस्थिति रहेको थियोे ।