विराटनगर । सुस्त मनस्थितिकी महिलामाथि बलात्कार गरेर फरार रहेका मोरङको कानेपोखरी–७ का ३१ वर्षीय रामु गुरुङ घटनाको ८ वर्षपछि पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरी नेतृत्वको टोलीले शुक्रबार साँझ बेलबारी नगरपालिका–३ बाट गुरुङलाई पक्राउ गरेको हो ।
२०६९ साल कार्तिक १७ गते सुस्त मनस्थितिकी ४५ वर्षीय महिलामाथि बलात्कार गरेको अभियोग उनीमाथि छ । बलात्कार गरिरहेका बेला स्थानीय बासिन्दाले देखेपछि उनी भागेका थिए । घटना लगत्तै फरार बनेर भारत पुगेका उनी दुई वर्षअघि नेपाल फर्किएर लुकिछिपी बस्दै आएका थिए ।
घटना गराएपछि बिहे गरेर घरजम बसाएका गुरुङ अहिले बेलबारीमा डेरा खोजेर श्रीमती र एक छोरीसहित बस्दै आएको खुलेको प्रहरीको भनाइ छ । घटनापछि भागेका उनी विरुद्ध प्रहरीले फरार प्रतिवादी बनाएर जवरजस्ती करणी मुद्दा चलाएकोमा जिल्ला अदालत मोरङले २०७४ साल जेठ १ गते बलात्कार घटनामा दोषी ठहर गर्दै १० वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
जवरजस्ती करणीमा ५ र सुस्त मनस्थितिकी महिलामाथि करणी गरेकोमा थप ५ गरेर गुरुङ विरुद्ध १० वर्ष कैद सजायको फैसला अदालतले गरेको थियो । गुरुङलाई आइतबार जिल्ला अदालत मोरङमा पेस गरिने प्रहरीले जनाएको छ ।