बलात्कार आरोपी छुटाउन रकम संलकन

ऋण काढेर रकम बुझाएको दावी

विराटनगर । सामूहिक बलात्कार आरोपमा पक्राउ परेकाहरुलाई छुटाउन आफन्तले १० प्रतिशत व्याजमा ऋण खोजेर नेपाल विद्यार्थी संघ मोरङका पूर्वसभापति गोपाल सेढाईं र श्रीमत मरन्डीलाई अभियुक्तका रकम दिएको पाइएको छ ।

सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका मोरङको रंगेलीका ६ युवाको मुद्दा मिलाइदिने भन्दै सेढाईं र मरन्डीले ७ लाख २५ हजार रुपैयाँ मागेपछि अभियुक्तका आफन्तले ब्याजमा कर्जा लिएर रकम दिएको बताएका छन् ।

अदालतमा पहँुच राम्रो रहेको र न्यायाधीशसँग पनि सेटिङ मिलाएर अभियुक्तलाई तीन महिनाभित्र छुटाईदिने जिम्मा दुई जनाले लिएको अभियुक्तका आफन्तले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरिएको छ । सामूहिक बलात्कारको घटनामा पक्राउ परी पुर्पक्षको लागि थुनामा गएका आफन्तहरु जिल्ला अदालतको अन्तिम फैसलामा पनि नछुटेपछि उनीहरुका आफन्तले ठगीमा परेको भन्दै सेढाईं र मरन्डी विरुद्ध जाहेरी दिएका हुन् । जाहेरीपछि मरन्डी पक्राउ परेका छन् भने सेढाईं फरार छन् ।

आर्थिक अवस्था कमजोर भएका अभियुक्तका आफन्तले आफ्नो भाईछोरा कारागारबाट छुट्ने आश्वासन पाएपछि ऋण खोजेर रकम बुझाएको बताएका छन् । अभियुक्तलाई तीन महिनाभित्रमा अदालतबाट सफाई दिलाएर घरैमा ल्याउने जिम्मा लिएपछि पैसा दिएको उनीहरूको भनाइ छ ।

श्रीमतसँग मिलेर सेढाईंले प्रतिवादीहरूका अभिभावक सोम मरन्डीबाट १ लाख ४० हजार, पनी हस्दाको छोरा बाबुलाल हस्दाबाट १ लाख ४० हजार, होप्पन टुढुको छोरा विक्रमबाट १ लाख ६० हजार, सुनिल मरन्डीका बाबु साइलाबाट १ लाख ६० हजार, बाहा मुर्मुको श्रीमान सोम मर्मुबाट १ लाख २५ हजार गरि जम्मा ७ लाख २५ हजार रूपैयाँ लिएका थिए । ‘पैसाँ दिएपछि कागज गरांै भनेका थियौं । सेढाइ र श्रीमतले हाम्रो विश्वास लाग्दैन ? कागज गर्नुपर्दैन भनेकोले त्यसै दिएका हौं’ अभियुक्तका परिवारले दिएको जाहेरीमा उल्लेख छ ।

अभियुक्तका आफन्तसँग रकम लिएपछि सेढाईं र मरन्डी अदालत जाने भन्दै घरबाट हिँडेको तर अन्तिममा आफ्ना आफन्तहरु पनि जेल गएको उनीहरुले बताएका छन् । रकम बुझाएपछि पनि आफन्त छुटाईदिने आश्वासनमा सेढाईं र श्रीमतको घरको कामसमेत गराउने गरेको जाहेरीमा उल्लेख छ । उनीहरुको घरमा धान काट्ने र गोड्ने काम वर्षभरी गरेको उनीहरुको भनाइ छ ।

जवरजस्ती करणीको मुद्दा मिलाइदिने भन्दै अभियुक्तका आफन्तबाट रकम लिएर ठगी गरेको आरोपमा प्रहरीले मरन्डीलाई पक्राउ गरेपछि सो प्रकरणमा सेढाईंको पनि संलग्नता खुलेको हो । प्रहरीले मरन्डीलाई पक्राउ गरि सोमबार जिल्ला अदालत मोरङमा ठगी मुद्दामा ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरू भएको मोरङ प्रहरीका प्रवक्ता डिएपी मानबहादुर राईले बताए । सेढाईं विरूद्ध भने पक्राउ पूर्जी जारी भएको उहाँको भनाइ छ ।

मरन्डीलाई प्रहरीले पक्राउ गरेपछि सेढाइ फरार भएका छन् । प्रहरीले उनको खोजी कार्यलाई जारी रहेको बताएको छ । मोरङको धनपालथान गाउँपालिकाकी १५ वर्षीया किशोरीमाथि २०७५ जेठ १५ गते १० बजे राति सामूहिक बलात्कार भएको थियो । विवाहमा जन्ती आएकी किशोरीलाई रङ्गेली ३ का २० वर्षीय सोरेन भन्ने सुरेन्द्र मरन्डी, सोही ठाउँका २४ वर्षीय तल्लु मर्मु, २३ वर्षीय बबु भन्ने प्रगान सतार, २३ वर्षीय डुडुङ भन्ने सोमलाल हेमरम, २२ वर्षीय बोईलर भन्ने सुनिल मरन्डी र २३ वर्षीय सुरेन्द्र टुडुले बलात्कार गरेको भन्दै प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत अदालतमा दायर गरेको थियो ।

पीडितले जाहेरी दिएलगत्तै इलाका प्रहरी कार्यालय रङ्गेलीले प्रतिवादीलाई पक्राउ गरेकोमा अदालतले २०७५ जेठ १२ गते उनीहरुलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो । न्यायाधीश किशोर घिमिरेको इजलाशले गत माघ १९ गते उनीहरुलाई बलात्कार प्रयास गरेको भन्दै जनही ३ वर्ष ६ महिना कैदको सजाय फैसला गरिदियो ।

रकम बुझाएपछि सफाइ पाइन्छ भन्ने विश्वासमा रहेका अभियुक्तका आफन्तहरुले अदालतबाट कैद सजाय तोकिएपछि सेढाईं र मरन्डीबाट ठगीमा परेको भन्दै प्रहरीमा जाहेरी दिएका हुन् ।

बिहिबार, २२ फागुन, २०७६, बिहानको ०८:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर