लोड हुँदैछ...

मेनु

तस्करीको घटना बाहिरिएपछि मोवाईल अफ गरेर फरार

जनप्रतिनिधिको तस्करी धन्दा

जनप्रतिनिधिको तस्करी धन्दा

विराटनगर । स्थानीय तहका जनप्रतिनिधिले भारतबाट अवैध रूपमा तस्करी गरेर ल्याएको ठूलो परिमाणको चिनी प्रहरीले मोरङको रतुवामाईबाट बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय सिजुवाले रतुवामाई नगरपालिका १ का सदस्य मो.सदिर मियाँले तस्करी गरी ल्याएको २५ क्विन्टल चिनी आइतबार साँझ बरामद गरेको हो ।

रतुवामाई नगरपालिका–१० भौडाहाबाट इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक मोहन रायमाझीको नेतृत्वमा खटिएको प्रहरी टोलीले अवैध चिनी बरामद गरेको हो । अवैध रूपमा ट्याक्टरमा ल्याएको ५० बोरा चिनी बरामद गरेको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिनुभयो ।

भौडाहास्थित तस्करीको चिनी गन्तब्यतर्फ लैजाँदै गरेको अवस्थामा मे १ त ८७१६ नम्बरको ट्याक्टर दुर्घटना भएपछि तस्करीको चिनीबारे खुलेको थियो । चिनी बरामदपछि वडा सदस्य मियाँ मोवाइल वहीच अफ गरि सम्र्पकविहीन भएका छन् ।

सोनापुरबाट उर्लाबारीतर्फ जाँदै गरेको मे १ त ८७ १६ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको बा २९ प ६८४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घटनापछि ट्याक्टर चालक ट्याक्टर नरोकी फरार भएकोले दक्षिणतर्फबाट ढुंगा बोकेर आउँदै गरेको अर्को मे १ त ६४६४ नम्बरको अर्को ट्याक्टरसँग ठक्करलाई पनि दिएको थियो ।

ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार रतुवामाई नगरपालिका–६ का प्रकाश र खगेन्द्र भेटवाल घाइते भएकोले उनीहरुको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । दुर्घटना पश्चात घटना स्थलमा पुगेको प्रहरीले चेकजाँच गर्दा मे १ त ८७१६ नम्बरको ट्याक्टरमा धानको बोराले छोपेर भारतबाट ल्याएको चिनी बरामद भएको हो ।

तस्करी धन्दामा लागेका गिरोहले निक्कै चलाखी गरेर चिनी ल्याएको पाइएको प्रहरीले जनाइएको छ । इप्रका सिजुवाका प्रहरी निरीक्षक रायमाझीका अनुसार तस्करीको चिनी लुकाउन ट्याक्टरको माथिल्लो स्थानमा १ सय ७ बोरा धान राखिएको थियो भने चिनी त्यसको मुनी थियो ।

राति र विहानको समयमा तस्करीको चिनी भारतबाट अवैध रूपमा आयात गरी दशगजा क्षेत्रमा ल्याएर भण्डारण गर्ने र विभिन्न सहरको विभिन्न क्षेत्रमा बिक्री गर्ने गरेको स्थानीयले बताएका छन् । सीमाक्षेत्रमा रहेको मियाँको धान काँटामा तस्करीको चिनी जम्मा गरेर ढुवानी गर्ने गरिएको प्रहरीले जनाएको छ ।

नेपालभन्दा भारतमा प्रतिकेजी करिब १५ रुपैयाँ सस्तो हुने भएकोले चिनीको तस्करी हुने गरेको छ । पूर्वी दक्षिणमा दशगजा क्षेत्रमा अनगन्ती धानको काटाँ रहेको छ । त्यसलाई आधार मानेर तस्करी हुने गरेको छ ।

प्रहरीले बरामद गरेको चिनी र ट्याक्टर ७ लाख २३ हजार रुपैयाँ मूल्यांकन गरिएको छ । बरामद चिनी र ट्याक्टर मंगलबार विराटनगर भन्सार कार्यालयमा बुझाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।