काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिबि शिक्षण अस्पताल काठमाडौंमा मिर्गौला प्रत्यारोपण गरिने भएको छ ।
आइतबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले बुधबार मिर्गौला प्रत्यारोपणको लागि सोमबार अस्पताल भर्ना हुने जानकारी दिनुभएको हो ।
प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणका लागि ९९ प्रतिशत तयारी पूरा भइसकेको अस्पतालका चिकित्सकहरूले बताएका छन् । सचिवालय बैठकले प्रधानमन्त्रीको सफल प्रत्यारोपण र स्वास्थ्य लाभको कामनासमेत गरेको पार्टी प्रवक्ता नारायणकारी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतको नयाँदिल्ली स्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नुभएको थियो । ६ वर्षअघि उनको हातमा पनि संक्रमण भएको थियो । दिल्ली र थाइल्यान्डमा लामो उपचार गरेपछि निको भएर उहाँ नियमित फलोअपमा थाइल्यान्ड जाने गर्नुभएको थियो । केही समयअघि उहाँको मिर्गौलाले काम गर्न छोडेपछि नियमित डायलासिस गर्न सुरु गरिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाञ्जी नता पर्ने महिलाले मिर्गौला दिने भएको बताइएको । गोपनियताका कारण ती महिलाको परिचय भने खुलाइएको छैन । यसअघि पहिलो पटक भारतमा मिर्गौला प्रत्यारोपण गर्दा ओलीलाई बुहारी अञ्जान घिमिरेले मिर्गौला दिनुभएको थियो ।