उदाहरणीय दृष्टिबिहीन राई दम्पति

उर्लाबारी । अपाङ्गता हुनु कसैको पनि रहर हुँदैन । व्यक्ति कुनै घटना वा दुर्घटनामा परेर अंङ्ग भङ्ग भइ हुने गर्दछ भने कुपोषण तथा आमालाई कुनै दीर्घरोग भएमा, गर्भावस्था आमा कुनै दुर्घटनामा परेमा बच्चामा जन्मजात पनि अपाङ्गता हुने गर्दछ ।

अपाङ्गता हुनु कुनै रोग होइन । यो एउटा अवस्था मात्र हो । तर, हाम्रो समाजमा अपाङ्गता भएका व्यक्तिहरुलाई केही पनि गर्न नसक्ने एकदम कमजोर अर्थात बिरामीहरु हुन् भन्ने नकारात्मक दृष्टिकोणले हेर्ने परम्परा छ । तर, अपाङ्गता भएका मानिसहरूले पनि अवसर पाउने हो भने केही गर्न सक्छन् भन्ने गतिलो उदाहरण बन्नुभएको, मोरङको उर्लाबारीका दृष्टिविहीन राई दम्पति ।

उर्लाबारी– ५ का राजकुमार राई र उनकी श्रीमती इन्दिरा राई दुबै जना दृष्टिबिहीन हुनुहुन्छ । ३९ वर्षीय राजकुमार र ४४ वर्षीया इन्दिरा सबलाङ्गहरूलाई चुनौती दिँदै मुढा बुनेर उदाहरणीय व्यवसायी बन्नुभएको छ ।

बिसं २०६२ सालमा प्लान नेपालको सहयोगमा नेत्रहीन संघ, मोरङले तालिम दिएपछि उहाँहरूले व्यावसायिक रूपमा मुढा बनाउने काम गर्दै आउनुभएको छ । मुढा बुन्नका लागि बाँस काटिरहेको अवस्थामा भेटिनुएका उहाँहरूले यही पेसाबाट दुःखसुख खान पुगेको बताउनुभयो । राजकुमार बाँस काटेर मुढाका लागि आवश्यक कच्चा पदार्थ तयार गर्ने र त्यसलाई इन्दिराले आकार दिने काम गर्ने गर्नुहुन्छ ।

बजारबाट मुढा बुन्ने डोरी खरिद गरी दम्पतिले मुढा तयार गर्ने गर्दछन् । इन्दिरा घरको काम सकेर पति राजकुमारलाई मुढा बन्न साथ दिनुहुन्छ । उहाँहरूले मासिक रूपमा १० हजार रुपैयाँ बराबरका मुढा बेच्ने गर्नुभएको छ । दम्पतिले हप्तामा १०÷१२ वटा मुढा बनाउने गर्नुभएको छ । उहाँहरु मुढामात्र नभई कुचोसमेत बनाएर बिक्री गरी दैनिक जीविकोपार्जन गर्नुभएको छ ।

उहाँहरुका दुई छोरी ११ वर्षीया इनिस्ता र ४ वर्षकी स्नीता छन् । इनिस्ता सेन्टइस्टेफेन्स बोर्डिङ स्कूलमा कक्षा ३ मा पढ्हुन्छ भने स्नीता लिटिल एन्जल बोर्डिङमा नर्सरीमा पढ्हुन्छ । दुबै बोर्डिङ स्कूलले उनीहरुलाई निःशुल्क पढाउँदै आएका छन् ।

ठूली छोरी इनिस्ताको सहारामा शनिबार गाउँ–गाउँमा मुढा र कुचो बेच्न जाने गरेको इन्दिराको भनाइ छ । एक थान मुढा २ सय ५० रुपैयाँमा बिक्री हुन्छ । ‘सबै जनाले छोरीको अनुहार हेरेर भएपनि मुढा किनेर सहयोग गर्दिनुहुन्छ’ इन्दिराले भन्नुभयो–‘मुढा बनाएर आएको पैसाले दुःखसुख नुनभुटुन पुग्छ ।’

राई दम्पतिको कथा
राजकुमारले ८ वर्षको उमेरसम्म आँखा देखे पनि पछि आँखा देख्न छोडेको बताउनुभयो । ‘उमेर बढ्दै जाँदा आँखाले काम गरेनन् । समयमै उपचार गरेको भए संसार देख्न पाइन्थ्यो कि ?’ उहाँले दुःख प्रकट गर्दै भन्नुभयो–‘२०५६ सालमा संखुवासभाको खाँदबारीबाट मधेस झरियो । त्यतिबेला अस्पतालमा देखाउँदा धेरै ढिलो भैसकेको रहेछ ।’

इन्दिरा राईको व्यथा भने अर्कै छ । उनको १ वर्षकै उमेरमा आँखाको ज्योति गुमेको थियोे । उहाँरुले विवाहपछि पनि धेरै अस्पतालमा धाए । तर, श्रीमान र श्रीमतीको एकअर्को मुहार र छोरीहरु हेर्ने सपना भने अधुरो रह्यो । डाक्टरले जति नै उपचार गराएपनि आँखा देख्न नसक्ने बताएको राजकुमारले बताउनुभयो ।

पहिलो भेटमै प्रेम
२०६२ सालमा प्लान नेपालको सहयोगमा नेत्रहीन संघ, मोरङले बेलबारीमा दिएको मुढा बुन्ने तालिममा राजकुमार र इन्दिराको भेट भयो । तालिमकै क्रममा उहाँहरुको चिनजान भयो । दुबैजना दृष्टिबिहीन भएका कारण एकअर्कालाई हेर्ने चाहना पूरा नभएपनि मन मिल्दैगयो ।

सोही तालिममा उहाँहरुको प्रेमको टुसा पलाउँदै थियो । प्रेम नफस्टाउँदै तालिम सम्पन्न भयो । त्यसपछि २०६३ सालमा पथरी शनिश्चरेमा दृष्टिबिहीनहरुलाई सङ्गीतको कक्षा सुरु भएपछि फेरि उहाँहरुको भेट भयो । त्यो भेट विवाहमा परिणत भयो ।

समाचारले बन्यो घर
दृष्टिविहीन राई दम्पति वैवाहिक जीवन सुरुवात गरेपछि उर्लाबारी–५ मा आफन्तको जग्गामा घामपानी छेक्ने सानो झुपडी बनाएर बसेका थिए । त्यही क्रममा विभिन्न सञ्चार माध्यमले दृष्टिविहीन राई दम्पतिको अवस्थाका बारेमा समाचार प्रकाशन गरेपछि देशविदेशबाट घर निर्माणका लागि सहयोग जुट्यो ।

समाजसेवी शोभितमाया तामाङ, सञ्चारकर्मी घनश्याम भण्डारीलगायतको अग्रसरतामा जस्ताको छाना लगाएको पक्की घर निर्माण गरियो । कठिन तरिकाले बसोबास गर्दै आएका यी दम्पतिलाई घर निर्माणपछि राहत मिल्यो ।

छोरीलाई आँखाको डाक्टर बनाउने सपना
दृष्टिविहीन राई दम्पतिले आफ्नी छोरीलाई डाक्टर बनाउने सपना देखेका छन् । ठूली छोरी इनिस्ताले भनेको स्मरण गर्दै इन्दिराले भन्नुभयो–‘ममी म डाक्टर बनेर हामीजस्तै गरिब दुखीको सेवा गर्छु ।’ ‘छोरीलाई डाक्टर पढाउने हाम्रो आर्थिक अवस्था त छैन’ उहाँले भन्नुभयो–‘राम्रो पढि भने सबैले डाक्टर पढाउन सहयोग गर्नुहुन्छ भन्ने हाम्रो अपेक्षा छ ।’

छोरीलाई आँखाको डाक्टर बनाउने राजकुमारको धोको छ । छोरीहरुले दृष्टिबिहीनहरुको ज्योति फर्काउन सकुन् भन्ने अपेक्षा रहेको उहाँले बताउनुभयो ।

आइतबार, १८ फागुन, २०७६, दिउँसोको १२:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर