परीक्षा रोकिएपछि विद्यार्थीको आक्रोश

विराटनगर । परीक्षा रक्त भएपछि विराटनगरस्थित आदर्श मा.वि. मा शनिबार परीक्षार्थीहरुले प्रदर्शन र चर्को नाराबाजी गरेका छन् ।

विद्यालयमा कुमारी बैंक लिमिटेडका लागि हुने भनिएको जुनियर असिस्टेन्टको परीक्षा रद्ध भएपछि परीक्षार्थीहरुले नाराबाजी गरेका हुन् ।

काठमाडौं केन्द्रीय कार्यालय भई सञ्चालित ग्लोबल जब डटकमले कुमारी बैंकको लागि जुनियर असिस्टेन्ट पदको दरखास्त आह्वान गरेको थियो । बैंकले ग्लोबल जबलाई परीक्षा लिने र नतिजा प्रकाशित गराउने सम्पूर्ण जिम्मा दिएको बताइएको थियो । परीक्षामा प्रदेश नं. १ र प्रदेश नं. २ का विभिन्न जिल्लाहरुबाट करिब ११ सय परीक्षार्थीहरु सहभागी हुन शनिबार आदर्श मा.वि. पुग्दा परीक्षा रद्ध भएको हो ।

ग्लोबल जबले प्रश्नपत्रको संख्या ५ सय मात्र भएको भन्दै बिहानैदेखि परीक्षा सञ्चालन गर्न आलटाल गर्दै आएको थियो । बिहान ८ बजे हुने भनिएको परीक्षा दिउँसो १२ बजिसक्दा पनि सञ्चालन नभएपछि परीक्षार्कीहरु आन्दोलित भएका हुन् । उनीहरुले ग्लोबल जबमा जागिरका लागि प्रत्यक्ष आवेदन दिएका सिमित विद्यार्थीहरुलाई मात्र ग्लोबल जबले परीक्षामा सहभागी गराउन खोजेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङ्गमा उजुरीसमेत हाल्ने बताएका छन् ।

सप्तरीबाट परीक्षा दिन आएका नारायणबहादुर कार्कीले जागिरको नाममा ठगी गरिएको बताउनुभयो । ग्लोबल जब प्रा.लि.का प्रतिनिधि सरदराज अर्यालले भने विराटनगरका परीक्षार्थीहरुका लागि मात्र प्रश्नपत्र ल्याएकोमा विराटनगर बाहिरका पनि धेरै परीक्षार्थीहरु सहभागी हुन आएकोले समस्या आएको दावी गर्नुभयो ।
कुमारी बैंक लिमिटेड विराटनगर शाखाका प्रबन्धक अंकित पाण्डेले परीक्षार्थीहरुले बेहोर्नुपरेको समस्या र उनीहरुको मागलाई सम्बोधन गर्दै परीक्षा केही दिनका लागि स्थगित गरिएको जानकारी दिनुभएको छ । अब ग्लोबल जबले बैंकको परीक्षा नदिने र अर्कै तरिकाले परीक्षा लिने उहँको भनाइ छ ।

ग्लोबल जबका प्रतिनिधि अर्याल र कुमारी बैंकका प्रबन्धक पाण्डेले विद्यार्थीहरुसँग क्षमा मागेपछि परीक्षार्थीहरुले आन्दोलन स्थगित गरेका थिए ।

शनिबार, १७ फागुन, २०७६, रातीको ११:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर