सुत्केरी आमा र शिशुको मृत्यु

धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसुति विभागमा प्रसुति गराएपछि आमा र बच्चाको मृत्यु भएको छ ।

प्रसुति गराउन ल्याइएकी इटहरीकी एक गर्भवती महिला र बच्चा दुवैको मृत्यु भएपछि प्रतिष्ठानमा तनाब भएको छ ।

आमा र बच्चाको मृत्यु भएपछि मृतकका आफन्तहरु आक्रोशित भएका छन् । उनीहरुले उपचारमा लापरवाही भएर आमा र बच्चा दुबैको मृत्यु भएको आरोप उनीहरुको आरोप छ ।

मृत बच्चालाई निकाल्ने क्रममा आमाको मृत्यु भएको बताइएको छ । इटहरीकी २५ वर्षीय गर्भवती लक्ष्मी बुढाथोकी थापा र पेटभित्र रहेको शिशुको मृत्यु भएको थियो । उनलाई प्रतिष्ठानमा गत मंगलबार भर्ना गरिएको विमारीका आफन्तहरुले बताएका छन् ।

घटनापछि मृतकका आफन्त आक्रोसित बनेका छन् । अस्पतालको लापरवाहीकै कारण मृत्यु भएको आफन्तहरुले आरोप लगाएका हुन् । बुधबार बिहानसम्म आमा र बच्चाको अवस्था राम्रो छ भनेर डाक्टरले भने पनि राति आमा र बच्चाकै मृत्यु भएको जानकारी दिएको मृतकका आफन्त विक्रम थापाले बताउनुभयो । नर्मल डेलिभरी नभएपछि अप्रेशन गर्न आग्रह गरेपनि डाक्टरहरुले बेवस्ता गर्दा दुबैको मृत्यु भएको उहाँको भनाइ छ ।

आफ्नो सन्तान जन्माउन अस्पताल आएपनि अस्पतालकै कारण आफुले श्रीमती र शिशु गुमाउनु परेको भन्दै मृतकका श्रीमान विनोद बुढाथोकीले दोषी डाक्टरलाई कार्वाहीको माग गर्नुभएको छ । प्रतिष्ठानमा प्रसुति गराउन नसक्ने भए अन्त रेफर गर्नुको साटो त्यतिकै यहाँ राखिएकोले आमाबच्चा दुवैको मृत्यु भएको उहाँको गुनासो छ ।

समस्या समाधानको लागि पीडित पक्ष र अस्पताल प्रशासनबीच छलफल थालिएको अस्पताल प्रशासनले जनाएको छ ।

बिहिबार, १५ फागुन, २०७६, रातीको ११:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर