हाम्रोमतलाई शुभकामना !

जनताको भावना बोल्न सकोस्
वर्षमान पुन ‘अनन्त’
उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन अनन्त

बिस्तारै नेपालमा सञ्चार प्रविधिका नयाँ–नयाँ माध्यमहरुको विकास भइरहेको छ । देश मल्टिमिडियातर्फ बढेको छ । कुनैबेला संसारमा प्रिन्ट मिडियाको एकाधिकार थियो । अहिले त्यो ठाउँ मल्टिमिडियाले लिइरहेको छ । तपाईहरुले पनि त्यसलाई पछ्याउनुभएको छ । आजको समयमा मानिसहरु पढ्ने, सुन्ने र हेर्ने एउटै मिडियामा आकर्षित भइरहेको देखिन्छ । आज पत्रकारहरुलाई पनि विश्वसनीय पत्रकारिता गर्नुपर्ने चुनौति छ । आम जनताको हातमा मिडिया पुगेको छ । ठुला मिडियाको एकाधिकार छैन यतिबेला । सामजिक सञ्जालदेखि मल्टिमिडियासम्मको पहुँच बढेको छ । त्यसैले आज जसरी जनविद्रोह दैनिकको स्वरुप परिवर्तन हुँदै यसले आफूलाई नयाँ रुपमा विकास गरेको छ त्यो महत्वपूर्ण छ । यसले जनताको भावना र विचारहरुलाई जस्ताको त्यस्तै सम्प्रेषण गर्न सकोस् भन्ने मेरो शुभकामना छ ।
हामीले ७ प्रदेश सरकार र ७ सय ५३ स्थानीय सरकार पाएका छौं । अब हामीले काठमााडौंतिर फर्कने होइन प्रदेशप्रति गर्व गर्नुपर्छ । हामीले प्रदेश सरकार, यहाँका पार्टीहरु, यहाँको संरचनालाई नै बलियो बनाएर जानुपर्छ । प्रदेशको नेतृत्वले देशको नेतृत्व गर्नसक्छ भन्ने आधार तयार भइरहेको बेला हामीले हीन भावनाले नभई उत्साहित भएर संघीयतालाई संस्थागत गर्नुपर्छ । यहिका सरकारहरुलाई मुख्य ठान्नुपर्छ र विकासमा योगदान गर्नुपर्छ । यहाँको मिडिया, यहाँको पार्टी र समुदाय खुम्चिनु पर्दैन । फरक ढंगले सोच्नुपर्छ । यो पत्रिका यहीको मुख्यमन्त्री, यहाँ दल र यहाँको समाजको हुनुपर्छ ।

सबैको मन जित्न सफल भएको छ
शेरधन राई
मुख्यमन्त्री प्रदेश नं १


आज हामी सबैका लागि अत्यन्तै खुसिको दिन । जनविद्रोह साप्ताहिक जसले आफूलाई स्तोन्नती गर्दै रंगिन आवरणमा राम्रो खुराकका साथमा हाम्रोमत दैनिकको रुपमा सार्वजनिकीकरण भएको छ । १६ वर्षअघि जन्मिएर कठिन र चुनौतिका घडीहरुमा संघर्ष गर्दै यहाँसम्म आइपुगेको छ । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर तीन तहका सरकार गठन भई विकास र समृद्धिको आकांक्षा पुरा गर्न अग्रसर छ । यतिधेरै परिवर्तन तर्फ मुलुक अघि बढिरहेको बेला आज हाम्रोमत दैनिक पनि समाजप्रति प्रतिवद्ध हुँदै जनताको आवाजलाई प्रस्तुत गर्ने बलियो प्रतिवद्धतासहित उभिएको छ ।
मलाई विश्वास छ, यसले जुन आवरण र डिजाइनमा जुन खुराकको साथमा आफुलाई उभ्याएको छ । यो पहिलो दिनमै आम जनमानस र सबै तहको मन जित्न सफल भएको छ । सबैको विश्वसनीय सञ्चार माध्यमको रुपमा विकास गर्दै आफूलाई स्थापित गर्न र भरपर्दो सूचना प्रवाह गर्न पत्रिकाले योगदान गर्ने मैले विश्वास लिएको छु । हाम्रोमतले ४५ लाख जनताको आवाजको रुपमा आफूलाई उभ्याउन सक्नेछ । विश्वसनीय सञ्चार माध्यमको रुपमा आफूलाई उभ्याउन सक्नेछ । अब नकारात्मकता मात्रै देख्ने कुरालाई बदल्नुपर्छ । सकारात्मक कुरा नलेख्ने, देखेर पनि नबोल्ने प्रयोगलाई बदल्दै जानुपर्छ । सकारात्मक काममा कसरी केन्द्रीत गर्ने भन्नेतर्फ सोच्न जरुरी छ । त्यसका लागि बलियो विश्वासनीयताको खाँचो छ । त्यसैले अब मिडियाहरुले सबै क्षेत्रमा राम्रो खवरदारीको भूमिका निर्वाह गर्नुपर्छ ।

यो अझ अगाडि बढोस्
राजीव कोइराला
नेता, प्रदेशसभा संसदीय दल, नेपाली काग्रेंस


जनविद्रोह पत्रिका जसरी नयाँ स्वरुपमा आएको छ, यो अझ अगाडि बढोस् र निरन्तरता प्राप्त गरोस् । मेरो शुभकामना छ । प्रदेश १ कै अग्रणी संस्थाको रुपमा अगाडि बढोस् भन्ने कामना पनि गर्दछु । नेपालमा ठूलो क्रान्तिपछि निक्कै परिवर्तनहरु भएका छन् । आज मिडियाले आफ्नो धर्म निर्वाह गरेको छ कि छैन वा स्वतन्त्र पत्रकारिता व्यवहारमा लागु भएको छ कि छैन प्रश्नहरु छन् । त्यसतर्फ हामीले ध्यान दिनुपर्छ भन्ने लागेको छ । मिडिया काउन्सिल विधेयक आदिको माध्यमबाट प्रेस अधिकारमा अंकुश लगाउने प्रयत्न भएको छ । यसप्रति सचेत हुँदै सञ्चार क्षेत्र अगाडि बढोस् शुभकामना छ ।

जनविद्रोह जस्तै संविधान पनि परिमार्जन हुनुपर्छ
जयराम यादव
नेता, समाजवादी पार्टी नेपाल


यो संस्थाको सफलताको शुभकामना व्यक्त गर्दछ । कठिन समयमा गणतन्त्र नेपालको लक्ष्य तथा जनताले आफ्नो संविधान आफैं बनाउनुपर्छ भन्ने जनताको सपना पुरा गराउनको लागि जसरी यो संस्थाको स्थापना र विकासमा योगदान गर्नुभयो सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु । अहिले पनि जनताका सबै सपनाहरु पुरा भएका छैनन् । जसरी परिवर्तन जनआकांक्षा अनुरुप संस्थाहरु समयानुकुल परिवर्तन भइरहेका छन्, यो नेपालको संविधानको हकमा पनि लागु हुनुपर्छ भन्ने लाग्छ ।
जनताको सपना अनुसार संविधान पनि परिमार्जन हुनुपर्छ । अहिले तलदेखि माथिसम्म नेकपाको बहुमतको सरकार छ । तात्कालिन समयमा गरेका प्रतिवद्धताहरु पुरा गर्नेतर्फ सोच्न जरुरी छ । हिजो हामीले लोडसेडिङ अन्त्य हुन्छ भनेर कल्पना नगरेको विषय आज सम्भव भएको छ । त्यसरी नै हिजो गरेका बाचाहरु पुरा गर्ने र संविधानममा जनताको सपना अनुसार परिमार्जन गर्नेतर्फ पनि भूमिका खेल्न सक्नुपर्छ । हिजो उठाइएका अधिकार र पहिचानका विषयहरु पुरा गराउन मिडियाको पनि उतिकै भूमिका हुनुपर्छ । अहिले लोडसेडिङको अवस्था यसरी परिवर्नत होला भनेर हामीले कल्पना गरेका थिएनौं अहिले त्यो सम्भव भएको छ । त्यसैगरी अहिले संविधानमा परिवर्तन जनताको सपना हो । सरकारले त्यसतर्फ पनि सोचोस् ।

समानूपातिक विज्ञापन नीति लागू हुनुपर्छ
भीम पराजुली
प्रमुख, विराटनगर महानगरपालिका


जनविद्रोह पत्रिका हाम्रोमतको रुपमा परिमार्जन हुँदै नयाँ रुपमा प्रकाशित भएको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दछु । यो अत्यन्तै खुसिको क्षण हो । यसले पत्रकारिताको धर्म निर्वाह गर्ने छ र जनविश्वास आर्जन गर्दै अघि बढ्नेछ भन्ने अपेक्षा मैले गरेको छु । प्रारम्भमा एउटा उद्देश्यबाट प्रकाशन आरम्भ भएपनि पछिल्लो समय जसरी सामाग्रीहरु प्रस्तुत भइरहेको थियो, त्यसले आफूलाई परिमार्जन र विकास गरिरहेकै अनुभूति हुन्थ्यो । अबका दिनमा अझ परिष्कृत भएर अघि बढोस् शुभकामना छ । साथै यस पत्रिकालाई यहाँसम्म ल्याउन योगदान गर्नुहुने सबै सम्मानित व्यक्तिहरुलाई बधाई दिन चाहान्छु ।
आजको दिनमा पत्रकारिता क्षेत्रमा चुनौति छ । पत्रकार भएर जीवनयापन गर्न निकै कठिन छ । यो कुरा राज्यको तर्फबाट बुझ्न जरुरी छ । पत्रकारहरु व्यक्तिगत र पार्टीगत सोचभन्दा माथि उठ्नुपर्छ । हामीले पनि उसलाई हेर्ने विगतको दृष्टिकोण बदल्नुपर्छ । हामी सबैले सहयोग गरेर यो माध्यमको संरक्षण र विकास गर्नुपर्छ । अधिकांश पत्रिकाहरु विज्ञापनबाट चलिरहेका छैनन् । समानूपातिक विज्ञापन नीति लागु गरेर स्थानीय सञ्चार माध्यमको संरक्षण र विकास गर्नुपर्छ । श्रमजीवि पत्रकार ऐन पनि कार्यान्वयन हुन सकेको छैन । हामी विभिन्न तहको सरकारमा रहनेहरुले यतापट्टी पनि ध्यान दिनुपर्छ । सरकारले विशेष नीति ल्याएर बाँच्न सक्ने अवस्था सृजना गर्नुपर्छ ।

प्रदेश १ को उत्कृष्ट पत्रिका बन्छ
भीम घिमिरे
अध्यक्ष, उद्योग संगठन मोरङ


जनविद्रोह दैनिक जसले स्थापना ग¥यो र जटिल अवस्थामा बचाएर राख्नुभयो यो आज हाम्रोमतमा परिणत भएको छ । त्यसमा आवद्ध सबैलाई म बधाई ज्ञापन गर्दछु । यो जटिल राजनीतिक अवस्थामा स्थापना भएर निरन्तर सञ्चालन भएको पत्रिका हो । आज सफल रुपमा विकास भएको छ । यसमा आवद्ध टिम समाजमा इमान्दार पत्रकारको परिचय बनाएकाहरु नै छन् । सक्षम टिम भएकोले पनि यो प्रदेश १ को उत्कृष्ट पत्रिका बन्नसक्छ । तपाईहरु सँधैभरी व्यवसायिक बन्नुस् । सत्य तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्नुस् । सफलताको शुभकामना छ ।

पत्रिका संस्थागत र स्थापित भएको छ
प्रकाश मुन्दडा
अध्यक्ष, मोरङ व्यापार संघ


हाम्रोमत नयाँरुपमा आएको छ र यो सफलतापूर्वक अगाडि बढ्ने विश्वास छ । जनविद्रोह पत्रिका पनि उतिकै चर्चित थियो । तात्कालिन माओवादी आन्दोलनकै समयमा अरु सञ्चारमाध्यमहरु प्रतिवन्ध भएको बेलामा यसले एक प्रकारको सूचना प्रवाह गरेको थियो । संक्रमणकाल हुँदै अहिलेसम्म आउँदा यसले महत्वपूर्ण योगदान गरेको छ । यो ब्ल्याक एण्ड ह्वाइटबाट कलरमा आउनु भनेको विकास हुनु हो । यो परिवर्तनले पत्रिका संस्थागत र स्थापित भएको छ भन्ने प्रमाणित पनि गरेको छ ।
अहिले राजनीतिक स्थायित्व भइसकेको अवस्था छ । त्यसैले अब प्रधानमन्त्रीको सुखि नेपाली समृद्ध नेपालको नारालाई सफल बनाउन पत्रिकाले योगदान गर्नुपर्छ । हाम्रो देशमा जति सम्भावना छ त्यसको ५ प्रतिशत पनि उपलव्धी हुन सकेको छैन । दिगो विकास लक्ष्य पहिल्याउन सकेका छैनौं । यहाँको पर्यटन विकास, औद्योगिक विकास र व्यापार व्यवसायको क्षेत्रमा पत्रकारिताको माध्यमबाट महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गर्दछु ।

पृष्ठभूमि विर्सेर अघि बढ्नुपर्छ
बिक्रम लुइँटेल
अध्यक्ष, नेपाल पत्रकार महासंघ, प्रदेश नं. १


जनविद्रोह दैनिकबाट हाम्रोमत दैनिकमा रुपान्तरित भएको पत्रिकाको सफलताको शुभकामना व्यक्त गर्दछु । यो पत्रिकालाई यहाँसम्म ल्याउन योगदान गर्नुभएका व्यक्तिहरु जसलाई सम्मान गरिएको छ, उहाँहरुलाई बधाई ज्ञापन गर्दछु । अहिले पनि पत्रकारिता गर्न गाह्रो छ । श्रमजीवी पत्रकारहरुको सवाल र उनीहरुको जिविकोपार्जनको विषयमा सोच्नुपर्ने अवस्था छ । सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य त्यतिबेला हुन्छ, जब समृद्ध प्रेस हुन्छ । जनताका अधिकार र आवाज सरकारसम्म नपुगेसम्म समृद्धि सम्भव छैन । त्यसका लागि समृद्ध प्रेस जरुरी छ । हिजो तयार भएको सञ्चार नीति आज कार्यान्वयनको अवस्थामा छ । त्यो नीति कार्यान्वयन भएमात्र पनि धेरै समस्या समाधान हुन्छ । अहिले विज्ञापनमा साना मिडियाको पहुँच छैन । समानुपातिक विज्ञापन नीतिले त्यो समस्या समाधान हुनसक्छ ।
यो पत्रिका एउटा पृष्ठभूमिबाट जन्मियो । त्यो आन्दोलनका कतिपय विषयमा समर्थन र कतिपयमा विरोध भए होलान् । तर, आज उसले एउटा मिसन पुरा गरेको छ । आज नयाँ अवस्थामा पुगेका छौं । अब हिजोको पृष्ठभूमिलाई विर्सेर अगाडि बढ्यौ भने यसको भविष्य उज्जवल छ । हिजोको बिचारहरुलाई स्मरण गर्दै नयाँ भविष्य खोज्दै अगाडि बढ्नुपर्छ । विराटनगर औद्योगिक नगरी पनि हो । उद्योग व्यवसायको वातावरण बनेको छैन भन्ने गुनासो छ । उद्योग व्यवासयका लागि सकारात्मक वातावरण बनिरहेको छैन । उद्योगी व्यवसायी र सरकारबीचको सेतु बन्ने गरी यो पत्रिका अगाडि बढ्न सक्छ । सबै बिचारहरुलाई फ्युजन गरेर नयाँ अभियान सुरु गर्न सकेमा भविष्य उज्जवल छ । शुभकामना ।

सबै क्षेत्रलाई समेटेर अगाडि बढोस्
पवनविवश अधिकारी
अध्यक्ष, विज्ञापन एजेन्सी संघ प्रदेश १


यो तात्कालिन अवस्थामा युद्धको आवश्यकताले प्रकाशन सुरु भएको पत्रिका हो । यसले आज आफूलाई परिमार्जन गर्दै विकसित गर्दै हाम्रोमत दैनिकको रुपमा प्रकाशन हुन थालेको छ । अब यो पत्रिका आम मानिसहरुको पत्रिका बन्न सकोस् । पहिले पार्टीको मात्र समाचार बन्थेहोला तर अब सबै क्षेत्रलाई समेटेर अगाडि बढोस् । आम मानिसहरुको साझा मत बनेर आउन सकोस् । समाचार बन्न नसकेका विषयहरु समाचार बनेर गाउँ र कुनाकुनासम्म पुगन सकेकोस् भन्ने कामना गर्दछु ।
नेपालमा विज्ञापन बजार बढ्दो छ । नेपालमा विज्ञापन वोर्ड गठन हुने क्रम अघि बढेको छ । विज्ञापन संघलाई पनि विज्ञापन वोर्डमा समावेश गर्नुपर्छ । विज्ञापन नै पत्रिका सञ्चालनको आधार हो । विज्ञापन नीति र विज्ञापन वोर्ड गठन गरेर सरकारले व्यवस्थित गर्नुपर्छ । क्लिन फिड नीतिलविज्ञापनको बजार विस्तार गरेको छ । त्यसबाट सबै क्षेत्रले फाइदा लिनसक्छ ।


सबैभन्दा खुसीको दिन

शिवकुमार डाँगी
संस्थापक सम्पादक


जनविद्रोह दैनिक आज हाम्रोमत दैनिकमा रुपान्तरण भएर प्रकाशन आरम्भ भएको छ । आजभन्दा १६ वर्ष अगाडि २०६० वैशाख ६ गतेबाट साप्ताहिक रुपमा प्रकासन आरम्भ भएको हो । तात्कालिन अवस्थामा रणनीतिक प्रत्याक्रमणको योजना अनुसार यसको प्रकाशन सुरु भएको हो । तात्कालिन मेची–कोशी व्युरोको इन्चार्ज वर्षमान पुन अनन्तको योजनामा पत्रिकाको प्रकाशन आरम्भ भएको हो । सबै मिडियाहरु प्रतिवन्ध अवस्थामा रहेको बेला बनेको योजना कार्यान्वयन गर्दै आजसम्म आइपुगेको छ । यो अहिले सहकारीमार्फत प्रकाशन भइरहेको छ ।
तात्कालिन अवस्थाले जन्मदिएको पत्रिका हो । त्यो परिवेश हुँदैनथ्यो भने यो पत्रिकाको जन्म नै हुने थिएन । यो पत्रिका बचेको थियो र नै आज यो अवस्थामा आइपुगेको छ । त्यतिबेला स्थापना भएको धेरै पत्रिका बन्द भए । यो मलाई आफ्नो सन्तान जस्तै लाग्छ । आज हाम्रोमत दैनिकको रुपमा आएको छ । यसलाई सबैले माया गर्नुपर्छ । सबैको मिहेनत, सहयोग र सहकार्यबाट यसलाई प्रदेश १ कै उत्कृष्ठ पत्रिका बन्नुपर्छ । आजको दिन सबैभन्दा खुसि कोही छ भने त्यो म नै हुँ । यसको विकास र निरन्तरताका लागि जस्तोसुकै सहयोग गर्न तत्पर रहने प्रतिवद्धता जनाउन चाहान्छु ।
(हाम्रोमत दैनिक सार्वजनिकीकरण तथा हाम्रोमत डटकम उद्घाटन कार्यक्रममा व्यक्त बिचार)

शुक्रबार, ०९ फागुन, २०७६

प्रतिक्रिया:

सम्बन्धित खवर