काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाउन राष्ट्रपतिलाई सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरषद्को बैठकले भण्डारीलाई पदबाट हटाउन सिफारिस गरेको हो ।
केपी ओलीको विश्वासपात्र रहेकी भण्डारीले मधेश प्रदेशका करिब दुईतिहाई सांसदले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनको आह्वान गर्न माग गरेकोमा सोमबार विहान एमाले संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । जनकपुरबाट विरामी भएकोले उपचारको लागि काठमाडौं जाने भन्दै हिँडेकी उनलले बर्दिबासको एउटा होटलमा यादवलाई मुख्यमन्त्रीको सपथ गराएपछि चौतर्फी विरोध भइरहेको बेला सरकारले पदमुक्त गरेको हो ।
नयाँ सरकार गठनको लागि परामर्श गर्ने बताएकी भण्डारीले एमाले अध्यक्ष ओलीको निर्देशनमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । त्यसविरुद्ध सर्वोच्च अदालतमा पनि रिट दायर भइसकेको छ ।
प्रदेश प्रमुख भण्डारीले असंवैधानिक, अनैतिक र अमर्यादित काम गरेको भन्दै विरोध भइरहेको छ ।

