लोड हुँदैछ...

मेनु

कोशीमा भारी वर्षाको सम्भावना, पहाड र तराई दुवै क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कोशीमा भारी वर्षाको सम्भावना, पहाड र तराई दुवै क्षेत्रमा सतर्कता अपनाउन आग्रह

विराटनगर । कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा आज भारी वर्षा हुने सम्भावना रहेकाले त्यसबाट उत्पन्न हुन सक्ने जोखिमप्रति सतर्क रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल कोशी प्रदेशसहित मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्रमा मनसुन सक्रिय रहेको छ। गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका केही स्थानमा पनि मनसुनको प्रभाव देखिएको छ। बाँकी क्षेत्रमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। गण्डकी र लुम्बिनीका बाँकी भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आगामी चारदेखि पाँच दिनभित्र मनसुन फैलिने सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा तराईका केही भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ। साथै मधेश प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने जनाइएको छ।

महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने सम्भावना रहेकाले त्यहाँका बासिन्दालाई आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरेको छ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेशका पहाडी र तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्य प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा पनि वर्षाको सम्भावना रहेकाले मौसमजन्य जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।