लोड हुँदैछ...

मेनु

संखुवासभामा बाढी–पहिरोको ठूलो क्षति

संखुवासभामा बाढी–पहिरोको ठूलो क्षति

संखुवासभा । लगातारको वर्षासँगै आएको बाढी र पहिरोले संखुवासभाको मकालु गाउँपालिकामा ठूलो क्षति पुर्‍याएको छ। मकालु गाउँपालिका–१ मा झोलुङ्गे पुल, काठेपुल, विद्यालय, पानीघट्टा, कृषि बाली तथा जलविद्युत् आयोजनामा व्यापक नोक्सानी पुगेको छ।

मंगलबार राति आएको बाढीले नुर्वुचौर र नुर्वु गाउँ जोड्ने इसुवा खोलाको झोलुङ्गे पुल बगाएको छ। नुर्वु खोल्सीमा आएको बाढीले सार्वजनिक पानीघट्टासहित चार वटा काठेपुल पनि बगाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

वडाध्यक्ष आङबाबु शेर्पाका अनुसार मयुमका आङटेम्बा शेर्पाको तीनतले घर नजिकैबाट ठूलो पहिरो झरेपछि घर उच्च जोखिममा परेको छ। यद्यपि घरमा हाल बसोबास नभएकाले मानवीय क्षति हुनबाट जोगिएको छ। पहिरोले करिब पाँच रोपनी जग्गा समेत पुरिएको छ।

निसार गाउँका सानु शेर्पाको दुईतले घरमाथिबाट पनि पहिरो झरेपछि घर जोखिममा परेको छ। घरधनी काठमाडौंमा बस्दै आएकाले त्यहाँ पनि मानवीय क्षति भएको छैन।

पहिरो र बाढीले कृषकहरूको अलैँचीबारी तथा खेतीयोग्य जमिनमा समेत ठूलो क्षति पुर्‍याएको छ। फुर्वा वाङढी शेर्पाको करिब १० रोपनी, कुसाङ दोर्ची शेर्पाको ८ रोपनी तथा आङबाबु शेर्पाको १२ रोपनी जग्गा बगाएको छ। साथै स्थानीय कृषकहरूको अलैँचीबारी व्यापक रूपमा नष्ट भएको प्रारम्भिक विवरणमा उल्लेख छ।

बाढी र पहिरोले इसुवा हाइड्रोपावर आयोजनालाई पनि प्रभावित बनाएको छ। सताङदेखि ड्याम साइट जाने करिब दुई किलोमिटर सडक विभिन्न स्थानमा अवरुद्ध भएको छ। आयोजनाका दुई वटा पाइप पहिरोले बगाएको छ भने करिब २०० मिटर पाइपमा क्षति पुगेको छ।

यसैगरी, गत सोमबार आएको बाढीले मकालु गाउँपालिका–२ मा निर्माणाधीन ४५ मेगावाट क्षमताको कसुवाखोला जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको छ। बाढीले ड्याम साइट क्षेत्रमा रहेका लोडर, मिक्सर, कंक्रिट पम्प मेसिन, ६० टन रड तथा ५०० बोरा सिमेन्ट बगाएको आयोजनाले जनाएको छ।

मयुमस्थित सिंहेश्वरी आधारभूत विद्यालयको करिब पाँच मिटर कम्पाउण्ड वाल भत्किएको छ भने विद्यालयको ढुङ्गा–माटोले बनेको स्टाफ किचन चर्किएको छ।

हालसम्म मानवीय क्षतिको सूचना प्राप्त नभए पनि भौतिक संरचना, कृषि उत्पादन, यातायात तथा जलविद्युत् आयोजनामा ठूलो नोक्सानी पुगेको प्रहरीले जनाएको छ। प्रहरी चौकी मकालुको टोली घटनास्थल पुगेर क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।