लोड हुँदैछ...

मेनु

काँकरभिट्टा नाकामा ‘एकीकृत जाँच इकाई’ पुनः सञ्चालन

काँकरभिट्टा नाकामा ‘एकीकृत जाँच इकाई’ पुनः सञ्चालन

विर्तामोड । झापाको मेचीनगर–६ स्थित काँकरभिट्टा नाकामा यात्रु तथा मालवस्तुको चेकजाँचलाई व्यवस्थित, छिटो र प्रभावकारी बनाउन ‘एकीकृत जाँच इकाई’ पुनः सञ्चालनमा ल्याइएको छ। करिब १० महिनापछि पुनः सञ्चालनमा आएको यो प्रणालीले सीमा सुरक्षा, भन्सार निगरानी तथा यात्रु सेवामा समन्वयात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ।

भारतको पश्चिम बंगालस्थित पानीट्याँकीसँग जोडिएको काँकरभिट्टा नाका नेपालको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वारमध्ये एक हो। दैनिक हजारौँ यात्रु र ठूलो परिमाणमा मालवस्तुको आवतजावत हुने यस नाकामा प्रभावकारी जाँच प्रणालीको आवश्यकता महसुस गरिँदै आएको थियो।

सोमबारदेखि पुनः सञ्चालनमा आएको ‘एकीकृत जाँच इकाई’ अन्तर्गत मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्मका सुरक्षाकर्मी एउटै स्थानबाट संयुक्त रूपमा यात्रु तथा मालवस्तुको परीक्षण गर्नेछन्। यसबाट यात्रुले विभिन्न निकायमा छुट्टाछुट्टै पुगेर चेकजाँच गराउनुपर्ने झन्झट हट्ने विश्वास गरिएको छ।

यसअघि मेची भन्सार कार्यालय परिसरमा अत्याधुनिक एक्स–रे मेसिनसहितको एकद्वार जाँच प्रणाली सञ्चालनमा थियो। भन्सार, नेपाल प्रहरी र सशस्त्र प्रहरीले एउटै स्थानबाट संयुक्त रूपमा निगरानी गर्दा चोरी–तस्करी नियन्त्रणका साथै यात्रुले सहज सेवा पाउँदै आएका थिए।

तर गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा जाँचस्थलमा आगजनी हुँदा भवन तथा उपकरणमा क्षति पुगेको थियो। त्यसपछि सम्बन्धित निकायले छुट्टाछुट्टै स्थानबाट चेकजाँच गर्दै आएका थिए। यसले यात्रुलाई पटक–पटक सामान देखाउनुपर्ने समस्या सिर्जना गर्नुका साथै सुरक्षा निकायबीच समन्वयमा समेत कठिनाइ उत्पन्न भएको थियो।

क्षतिग्रस्त संरचनाको मर्मत सम्पन्न भएपछि मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्मले संयुक्त रूपमा पुनः ‘एकीकृत जाँच इकाई’ सञ्चालनमा ल्याएका हुन्।

कार्यक्रममा मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपाने, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक निशेष चापागाईं तथा सशस्त्र प्रहरी बलका सीमा सुरक्षा गुल्म काँकरभिट्टाका गणपति सशस्त्र प्रहरी उपरीक्षक विकास थापाले संयुक्त रूपमा इकाई पुनः सञ्चालनमा आएको घोषणा गरेका थिए।

हाल जाँचस्थलमा एक्स–रे मेसिन भने जडान गरिएको छैन। आवश्यक प्रक्रिया पूरा गरी छिट्टै पुनः एक्स–रे मेसिन सञ्चालनमा ल्याइने सम्बन्धित निकायले जनाएको छ। एकीकृत जाँच प्रणाली पुनः सञ्चालनमा आएसँगै भन्सार छली, कम मूल्याङ्कन तथा अवैध ओसारपसार नियन्त्रणमा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ। साथै सुरक्षा निकायबीच सूचना आदानप्रदान र समन्वय अझ मजबुत हुने विश्वास गरिएको छ।

पूर्वी नाकाबाट नेपाल भित्रिने पर्यटक, सर्वसाधारण तथा व्यवसायीका लागि समेत यो प्रणाली लाभदायी मानिएको छ। एउटै स्थानमा आवश्यक प्रक्रिया पूरा गर्न सकिने भएपछि समयको बचत हुनुका साथै प्रशासनिक झन्झट पनि कम हुने अधिकारीहरूको भनाइ छ।

नेपालको प्रमुख व्यापारिक तथा पर्यटकीय प्रवेशद्वारका रूपमा रहेको काँकरभिट्टा नाकामा आधुनिक र समन्वयात्मक जाँच प्रणाली पुनः सञ्चालनमा आउनुलाई सीमा व्यवस्थापन सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।