विर्तामोड । झापाको पूर्वोत्तर वनक्षेत्रसँग जोडिएका बस्तीमा जंगली हात्तीको आतंक वर्षौंदेखिको समस्या हो। हरेक वर्ष हात्तीले धान, मकै, गहुँ, तोरी, केरा, उखु तथा तरकारी बालीमा क्षति पुर्याउँदा किसानले ठूलो नोक्सानी बेहोर्नुपरेको छ।
यही चुनौतीबीच सुपारीखेती भने हात्ती प्रभावित क्षेत्रका कृषकका लागि सुरक्षित र भरपर्दो नगदेबालीका रूपमा स्थापित हुँदै गएको छ। विशेषगरी बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका र मेचीनगर नगरपालिकाका वनसँग जोडिएका बस्तीमा सुपारीखेती तीव्र रूपमा विस्तार भइरहेको छ।
अन्य बालीको तुलनामा हात्तीबाट कम क्षति हुने, एकपटक रोपेपछि दशकौँसम्म उत्पादन दिने, कम श्रममा राम्रो आम्दानी हुने तथा अन्तरबाली प्रणाली अपनाउन सकिने भएकाले किसानको आकर्षण सुपारीखेतीतर्फ बढेको हो। बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष अनिल वाग्लेका अनुसार सुपारीको बगान स्थापना गरेपछि ४० देखि ५० वर्षसम्म उत्पादन लिन सकिन्छ।
नियमित सिँचाइ, मल व्यवस्थापन र सामान्य हेरचाहमै राम्रो उत्पादन हुने भएकाले यसको लागत अन्य नगदेबालीको तुलनामा कम पर्छ। यही कारण उत्तरी झापाका किसानहरू सुपारीखेतीलाई सुरक्षित विकल्पका रूपमा लिन थालेका छन्।
झापामा सुपारीखेतीको मुख्य केन्द्रका रूपमा बुद्धशान्ति गाउँपालिका चिनिन्छ। वडा नम्बर १, ३, ४ र ५ का अधिकांश परिवार प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सुपारी उत्पादनसँग जोडिएका छन्। गाउँपालिका अध्यक्ष मनोज प्रसाईंका अनुसार सुपारीबाट नगद आम्दानी हुने भएकाले स्थानीयवासीको आर्थिक अवस्था सुधार हुँदै गएको छ। वैदेशिक रोजगारीमा गएका केही युवा समेत गाउँ फर्किएर सुपारीखेतीमा संलग्न हुन थालेका छन्।
अर्जुनधारा नगरपालिका र मेचीनगर नगरपालिकाका वनसँग जोडिएका क्षेत्रमा पनि सुपारीखेती विस्तार भइरहेको छ। स्थानीय कृषि प्राविधिकका अनुसार यी दुई पालिकाका करिब ४० प्रतिशत कृषक कुनै न कुनै रूपमा सुपारी उत्पादनमा संलग्न छन्। हात्तीले धान, मकै र तरकारीमा ठूलो क्षति पुर्याए पनि सुपारीका बगानमा तुलनात्मक रूपमा कम नोक्सानी हुने अनुभव किसानहरूले गरेका छन्। यही कारण पछिल्ला वर्षमा नयाँ बगान स्थापना गर्ने क्रम बढेको छ।
बिर्तामोड, कनकाई, शिवसताक्षी, गौरादह र दमक नगरपालिकामा पनि करिब २० प्रतिशत कृषक सुपारीखेतीमा आबद्ध छन्। सुपारीका बिरुवाको माग बढेसँगै ती क्षेत्रमा व्यावसायिक नर्सरीसमेत सञ्चालनमा आएका छन्।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार पूर्व–पश्चिम राजमार्ग दक्षिणका क्षेत्रमा समेत सुपारीखेतीप्रति आकर्षण बढ्दै गएको छ। उनका अनुसार बिरुवा रोपेको केही वर्षपछि नियमित उत्पादन सुरु हुने र दशकौँसम्म आम्दानी भइरहने भएकाले किसानहरूले सुपारीलाई दीर्घकालीन लगानीका रूपमा लिन थालेका छन्।
बुद्धशान्ति–५ का किसान गजाधर पौडेलले १६ कठ्ठा जमिनमा करिब ६ सय सुपारीका बिरुवा रोपेका छन्। तीमध्ये पाँच सय बिरुवाले उत्पादन दिइरहेका छन्। उनले वार्षिक करिब दुई लाख ५० हजार रुपैयाँ बराबरको सुपारी बिक्री गर्दै आएका छन्।
अन्य बालीको तुलनामा कम श्रम र राम्रो प्रतिफल पाइने भएकाले सुपारीखेतीबाट सन्तुष्ट रहेको उनले बताए। जिल्लाका केही किसानले ठूलो क्षेत्रफलमा व्यावसायिक रूपमा सुपारीखेती गरी वार्षिक आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन्।
जंगली हात्तीको निरन्तर त्रासका कारण अन्य बालीमा निर्भर रहन कठिन बन्दै गएको अवस्थामा सुपारीखेती झापाका किसानका लागि दीर्घकालीन, सुरक्षित र आम्दानीमुखी विकल्पका रूपमा स्थापित हुँदै गएको देखिन्छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।