सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–३ गौतमपुरका किसान रामेश्वर मेहताले पाँच कट्ठा जमिनमा व्यावसायिक ड्रागन फ्रुट खेती गरेर वार्षिक १२ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेका छन्।
परम्परागत खेती छाडेर आधुनिक फलफूल खेतीतर्फ लागेका मेहताको प्रयास अहिले स्थानीय कृषकका लागि प्रेरणाको स्रोत बनेको छ।
मेहताले करिब आठ लाख रुपैयाँ लगानी गरेर ड्रागन फ्रुट खेती सुरु गरेका हुन्। उनका अनुसार बिरुवा खरिदमै एक लाख ५६ हजार रुपैयाँ खर्च भएको छ। बाँकी रकम पिलर, टायर तथा होल्डर, कम्पोष्ट मल, सुडोमोनास, अन्य खाद्य पदार्थ, रोपाइँ, सिँचाइ र मजदुरको ज्यालामा खर्च गरिएको छ।
“खेती सुरु गर्दा आम्दानीभन्दा खर्च बढी थियो, तर अहिले उत्पादन आउन थालेपछि उत्साहित भएको छु,” मेहताले भने। उनका अनुसार पाँच कट्ठामा लगाइएका बिरुवाबाट प्रतिकट्ठा करिब एक हजार चार सय किलो ड्रागन फ्रुट उत्पादन हुने अपेक्षा गरिएको छ। उत्पादन र बजार मूल्यका आधारमा यस वर्ष १२ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने लक्ष्य लिइएको उनले बताए।
कम मेहनतमा राम्रो आम्दानी हुने र बजारमा माग पनि राम्रो रहेकाले अब खेती थप विस्तार गर्ने तयारी भइरहेको मेहताले जानकारी दिए। उनको सफलताले स्थानीय कृषकहरू पनि ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुन थालेका छन्।
कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख नीलकमल सिंहका अनुसार सुनसरी जिल्लामा हाल करिब ५० हेक्टर क्षेत्रफलमा ड्रागन फ्रुट खेती भइरहेको छ। जिल्लामा प्रतिहेक्टर औसत १२ दशमलव पाँच मेट्रिक टन उत्पादन हुँदै आएको उनले बताए।
परम्परागत अन्नबालीमा सीमित कृषकहरूका लागि व्यावसायिक फलफूल खेतीतर्फको यो आकर्षणले स्थानीय कृषि क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्न थालेको सरोकारवालाहरूको भनाइ छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।