लोड हुँदैछ...

मेनु

ओखलढुंगाको चिसंखुगढीमा बाढीको बितण्डा: पुलमा क्षति, गोठ बगायो, पशुचौपाया बेपत्ता

ओखलढुंगाको चिसंखुगढीमा बाढीको बितण्डा: पुलमा क्षति, गोठ बगायो, पशुचौपाया बेपत्ता

विराटनगर । ओखलढुंगाको चिसंखुगढी गाउँपालिकामा गएरातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले ठूलो भौतिक क्षति पुर्‍याएको छ । बाढीले पक्की पुलमा क्षति पुर्‍याउनुका साथै स्थानीयका घर–गोठ बगाउँदा आधा दर्जन बढी पशुचौपाया समेत बेपत्ता भएका छन् ।

स्थानीय बासिन्दा दीपक भुजेलका अनुसार खानी खोला र बांगे खोलामा आएको बाढीले चिसंखुगढीका विभिन्न वडामा धनमालको क्षति गरेको हो । खानी खोलामा आएको बाढीले चिसंखुगढी गाउँपालिका वडा नम्बर ३ र ५ जोड्ने पक्की पुललाई आंशिक रूपमा बगाएको छ । पुलमा क्षति पुगेसँगै दुई वडाबीचको यातायात सम्पर्क समेत प्रभावित भएको छ ।

यस्तै, बांगे खोलामा आएको बाढीले स्थानीयका गोठ र पशुचौपाया बगाएको छ । चिसंखुगढी–२ का टीका भुजेलको ढुंगा–माटोले बनेको गोठ बाढीले पूर्ण रूपमा बगाउँदा एउटा भैंसी बेपत्ता भएको छ । सोही वडाका मन नारायण श्रेष्ठको पनि गोठ बगाएको र दुईवटा गोरु हराएको जानकारी प्राप्त भएको छ । वडा नम्बर ३ का मन बहादुर सार्कीको खरले छाएको गोठ बाढीले बगाउँदा तीनवटा गोरु बेपत्ता भएका छन् ।

बाढीसँगै खसेको पहिरोले घरहरूमा समेत क्षति पुर्‍याएको छ । वडा नम्बर १ का रामकुमार राईको दुई तले घरमुनिबाट पहिरो जाँदा घरको अगाडिको भागमा क्षति पुगेको छ । घर बस्न नहुने गरी जोखिममा परेपछि राईको परिवार आमाको घरमा आश्रय लिएर बसेको छ । सोही वडाका जनक बहादुर मगरको घरमाथिबाट पहिरो खस्दा घरको पर्खाल चर्किएर क्षति पुगेको छ । मगरको परिवार पनि विस्थापित भई आफन्तकोमा शरण लिन बाध्य भएको छ ।

घटना लगत्तै प्रहरी टोली प्रभावित क्षेत्रमा पुगेर उद्धार र सुरक्षामा सहयोग गरिरहेको छ । क्षतिको थप विवरण संकलन गर्ने काम भइरहेको र थप जोखिम न्यूनीकरणका लागि स्थानीय प्रशासनले सचेत रहन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।