धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–५, डाँडाबजारका सशस्त्र प्रहरी बलका पुर्व हवल्दार तारावीर तामाङको हातमा अहिले बन्दुक होइन, हँसिया र कोदाली हुन्छन् । उनी देशको सिमाना होइन, आफ्नै २० रोपनी पाखोबारीको सुरक्षा र हेरचाहमा अहोरात्र खटिएका छन् ।
२०६३ सालमा विस्तृत शान्ति सम्झौता भएपछि देशमा युद्धको कोलाहल थामियो । त्यही शान्तिको सँघारमा तारावीरले एउटा व्यक्तिगत तर साहसिक निर्णय लिए— जागिर छोडेर माटोमा पसिना बगाउने । २०६४ सालमा सशस्त्र प्रहरीको बर्दी र बन्दुक बुझाएर उनी गाउँ फर्किए । “बन्दुकको नालभन्दा माटोको सुगन्धमा बढी सन्तुष्टि भेटिने रहेछ,’’ डाँडाबजारमा भेटिएका तामाङले विगत सम्झिए, “जागिरमा आदेशको पालना गर्नुपथ्र्यो, यहाँ आफ्नै पसिनाको मालिक आफैँ भएको छु ।’’
तारावीरको आफ्नै ७ रोपनी जग्गा छ । दाजुभाइको समेत गरी उनले कुल २० रोपनीमा तरकारी खेती फैलाएका छन् । तराईका मानिसहरूका लागि धान मुख्य बाली भए जस्तै डाँडाबजारका लागि काउली (फूलकोपी) हो । १५ रोपनीमा काउली र बाँकी जग्गामा मूला, मकै र भट्टमास लगाउने उनले एक सिजनमा झण्डै ८० क्विन्टलसम्म काउली फलाउँछन् ।
“तराईमा मानिसहरूले धान रोपे जस्तै हामी यहाँ काउली खेती गर्छौँ,’ उनी भन्छन्, “सिजनमा साढे ३ देखि साढे ४ लाख रुपैयाँसम्मको तरकारी बिक्री हुन्छ ।’’ तराईमा वर्षाले बाली बिगारेका बेला यहाँको काउलीले प्रतिकिलो ८० रुपैयाँसम्म भाउ पाउँछ । तर, सधैँ यस्तो हुँदैन । कहिलेकाहीँ बजार भाउ ३०–३५ रुपैयाँमा झर्दा पसिनाको मूल्य उठ्नै मुस्किल पर्ने उनको अनुभव छ ।
प्राविधिक अभाव र माटोको पिरलो
तारावीरलाई माटोको ‘रोग’ बुझ्न भने कठिन भइरहेको छ । पछिल्लो समय माटोको गुणस्तर बिग्रिँदै गएको र बिरुवाको फेदमा गिर्खा पर्ने रोगले सताउन थालेपछि उनी चिन्तित छन् । “बिरुवाहरू ओइलाउँछन्, उत्पादन घट्दै छ,’ उनले गुनासो गरे, “तर अहिलेसम्म न त गाउँपालिकाका प्राविधिक बारीमा आएका छन्, न त कसैले यसको उपचार नै सिकाएका छन् ।’’
उनका अनुसार स्थानीय कृषि कर्मचारीहरूबाट समूह गठन गर्ने, अनुदान दिने वा प्राविधिक परामर्श दिने जस्ता कामहरू कागजमा मात्र सीमित छन् । किसानहरू संगठित हुन नसक्दा राज्यबाट पाउने आधुनिक औजार र उपकरणहरू पहुँचवालाको हातमा मात्र पुग्ने गरेको उनको बुझाइ छ ।

बिचौलियाको दबदबा
तारावीर मात्र होइन, डाँडाबजारका ४ सयभन्दा बढी व्यावसायिक किसानको साझा पीडा बिचौलिया र बजारको अस्थिरता हो । अर्का कृषक सीता घिमिरेका अनुसार किसानले ३० रुपैयाँमा बेचेको तरकारी उपभोक्ताले ८० देखि १०० रुपैयाँमा किन्नुपर्ने अवस्था छ । “बिचौलियाले बीचमै फाइदा लुट्छन्, हामी मेहनत गर्नेहरू सधैँ मारमा छौँ,’ सीता भन्छिन् । तराईको गर्मी छल्न डाँडाबजार पुग्ने पर्यटकहरू अचेल फर्कँदा यहाँको ताजा तरकारी कोसेलीका रूपमा लैजान्छन् ।
साँगुरीगढी–५ का वडाअध्यक्ष खड्गबहादुर लिम्बू भने किसानलाई सघाउन वडाले वार्षिक ४ लाख रुपैयाँ बीउ बिजनमा छुट्याएको दाबी गर्छन् । गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले साँगुरीगढीलाई ‘कृषि हब’ बनाउन ’एक वडा, एक प्राविधिक’ को नीति अघि सारेको बताएका छन् । “बजार मूल्य निर्धारण गर्न नसक्नु देशकै समस्या हो, तर हामी बिचौलिया कम गर्न र बेमौसमी खेतीलाई प्रोत्साहन गर्न मिनी–टिलर र मल्चिङ प्रविधिमा अनुदान दिइरहेका छौँ,’ अध्यक्ष राईले भने ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।