लोड हुँदैछ...

मेनु

कोशी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, पश्चिमका तराईमा ‘लु’ को जोखिम

कोशी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, पश्चिमका तराईमा ‘लु’ को जोखिम

विराटनगर । कोशी प्रदेशमा आज मौसममा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको आंशिक प्रभाव रहेकाले कोशी प्रदेशका पहाडी तथा तराईका भूभागमा वर्षाको सम्भावना देखिएको हो।

आज दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, रातिको समयमा पनि कोशी प्रदेशमा मौसम साधारणतया बदली रहने र तराईका थोरै स्थानहरूमा चट्याङ्गसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

कोशी प्रदेशसँगै मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा पनि अहिले बादल लागेको छ। अन्य प्रदेशका तराई भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा समेत चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।

यसैबीच, पश्चिम नेपालका तराई क्षेत्रमा भने गर्मीको लहर चल्ने देखिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरैजसो स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा तातो दिन (हिट वेभ) हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

आज राति कोशी प्रदेशबाहेक अन्य हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका बाँकी भागमा मौसम सफा रहनेछ। बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा राति पनि एक-दुई स्थानमा वर्षाको सम्भावना कायमै रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।