काठमाडौं । लगातार ओरालो लागेको सेयर बजार बुधबार झिनो सुधारसहित बन्द भएको छ। पछिल्ला कारोबार दिनमा निरन्तर गिरावट आएको बजारमा यस दिन नेप्से परिसूचक सामान्य अंकले बढे पनि कारोबार रकम भने घटेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०८ अंकले बढेर २७०५.५३ विन्दुमा पुगेको छ। यद्यपि सेन्सेटिभ इन्डेक्स ०.२० अंकले घटेको छ। फ्लोट इन्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०८ अंकले बढेका छन्।
बुधबार कुल ३ अर्ब ६३ करोड ७५ लाख रुपैयाँ बराबरको ८३ लाख ७५ हजार ४७१ कित्ता सेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिन मंगलबार ४ अर्ब ४ करोड ७८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको थियो। यस आधारमा कारोबार रकममा उल्लेख्य गिरावट देखिएको छ।
यस दिन दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नयाँ सूचीकृत कम्पनीहरू सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावर को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। त्यस्तै, बुंगल हाइड्रोपावर को सेयर मूल्य ७.५ प्रतिशतभन्दा बढीले बढेको छ।
यता, मूल्य घट्ने कम्पनीहरूमा एनएमबी डिबेन्चर १०.७५ प्रतिशत सबैभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। कम्पनीको २१ करोड १७ लाख ११ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दोस्रो स्थानमा रहेको रिलायन्स स्पिनिङ मिल्स को १८ करोड ३२ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढ्दा आठ उपसमूहमा गिरावट आएको छ। विकास बैंक, वित्त, जलविद्युत, लगानी तथा उत्पादन तथा प्रशोधन समूहमा सामान्य वृद्धि देखिएको छ।
यस्तै बैंकिङ, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बीमा, अन्य तथा व्यापार उपसमूहका सूचकहरू घटेका छन्।
लगातारको गिरावटपछि बजारले सामान्य सुधार देखाए पनि कारोबार रकम घट्नु र अधिकांश उपसमूहमा दबाब कायम रहनुले लगानीकर्ताको मनोबल अझै पूर्ण रूपमा फर्किन नसकेको संकेत गरेको विश्लेषकहरू बताउँछन्।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।