विराटनगर । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूको आर्थिक पुनःएकीकरणका सम्बन्धमा कोशी प्रदेशका उद्योग तथा प्रतिष्ठानका सञ्चालक एवं प्रबन्धकहरूबीच प्रदेशस्तरीय अन्तरक्रिया भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र रेमी परियोजनाको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको आर्थिक पुनःएकीकरणका लागि हालसम्म भएका कार्यहरूको प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदन अनुसार महासंघले हालसम्म १० वटा स्थानीय तहमा रोजगारदाता र आप्रवासी सञ्जालका प्रतिनिधिहरूबीच उपलब्ध रोजगारी तथा दक्षताका विषयमा बैठक सम्पन्न गरिसकेको छ ।
यसका साथै महासंघले रोजगारीको खोजीमा रहेका व्यक्तिहरू र दक्ष कामदारको अभाव झेलिरहेका उद्योग प्रतिष्ठानहरूको विवरण सङ्कलन गरेको छ । स्थानीय तहको रोजगार सूचना केन्द्रबाट प्राप्त तथ्याङ्कका आधारमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई रोजगारी उपलब्ध गराउन महासंघ कोशी प्रदेशले सहजीकरण गर्दै आएको महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताए ।
कार्यक्रममा उद्योगी व्यवसायीहरूले उपयुक्त सीप र दक्षता भएका जनशक्तिलाई रोजगारी दिन आफूहरू तयार रहेको बताए । प्रगति टेक्सटायलका प्रदिप निरौलाले दक्षता र काममा लगनशीलता भएका व्यक्तिहरूलाई उद्योग प्रतिष्ठानहरूले सधैँ खोजी गरिरहने उल्लेख गरे । रिलायन्स स्पिनिङ्ग मिल्सका महेश पोखरेलले सीपसँगै रोजगारी उपलब्ध गराउन आफ्नो प्रतिष्ठान प्रतिबद्ध रहेको बताए ।
यसैगरी, एशियन थाई फुड्सका प्रतिनिधि शिव प्रसाद निरौलाले खाद्य सम्बन्धी उद्योगमा आवश्यक सीप भएका व्यक्तिहरूलाई रोजगारी दिन सकिने बताए । कार्यक्रममा पल्स फेसन सोलुसन, सुदर्शन सेक्युरिटी सर्भिस प्रा।लि। तथा डेरी उद्यमीहरूले समेत रोजगारीका अवसरहरू उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिव गोपाल दाहालले मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गरी सञ्चालन गरिरहेका विभिन्न परियोजनाहरूका बारेमा जानकारी गराए ।
कोशी प्रदेशमा सञ्चालित विभिन्न उद्योग प्रतिष्ठानका करिब ५० जना प्रतिनिधिहरूको सहभागिता रहेको उक्त कार्यक्रम महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) ले सहजीकरण गरेका थिए ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।