झापा । झापाको चर्चित पर्यटकीय गन्तव्य अर्जुनधारा नगरपालिका–९ र ११ स्थित सुखानी सहिद स्मृति उद्यानमा सोमबारदेखि दुई नयाँ साहसिक खेल जीपलाइन र जीपसाइक्लिङ सञ्चालनमा आएका छन्।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले अर्जुनधारा नगरपालिका र सुखानी सहिद स्मृति प्रतिष्ठान नेपालको संयुक्त लगानीमा यी खेल सञ्चालनमा ल्याइएको हो।
अर्जुनधारा नगरपालिकाको २० लाख रुपैयाँ र प्रतिष्ठानको श्रमदानसहित १२ लाख ५० हजार रुपैयाँ गरी कुल ३२ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण गरिएको साहसिक खेलको स्टेसनबीचको दूरी एक सय मिटर रहेको उद्यानका व्यवस्थापक रुद्रमणि सुवेदीले जानकारी दिए।
उद्घाटन समारोहमा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले जीपलाइन तथा प्रतिष्ठानका केन्द्रीय सदस्य बाबुराम घिमिरेले जीपसाइक्लिङ खेलको औपचारिक उद्घाटन गरेका थिए।
उद्यान व्यवस्थापन समितिले जीपलाइन र जीपसाइक्लिङ खेलको शुल्क प्रतिव्यक्ति ३०० रुपैयाँ निर्धारण गरेको छ। दुवै खेल एकैपटक खेल्न चाहनेका लागि ‘कम्बो प्याक’ अन्तर्गत प्रतिव्यक्ति ५०० रुपैयाँ शुल्क तोकिएको छ।
उद्यान व्यवस्थापन समितिका अध्यक्ष भैरवबहादुर खड्काको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नगर कार्यपालिका सदस्य तथा आर्थिक समिति संयोजक गौरीमाया चिमरिया, प्रतिष्ठानका केन्द्रीय सदस्य लोकमान श्रेष्ठ, मानव–हात्ती द्वन्द्व न्यूनीकरण अर्जुनधारा नगर समितिका अध्यक्ष ढुण्डीराज गौतम, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शीलगायतको उपस्थिति रहेको थियो।
समितिका सदस्य कमल गुरागाईंले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन उद्यानका व्यवस्थापक सुवेदीले गरेका थिए।
सुखानी सहिद स्मृति उद्यानमा साहसिक खेल थपिएसँगै यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने तथा पर्यटकको बसाइ अवधि बढ्ने अपेक्षा गरिएको छ। स्थानीय सरोकारवालाले यस्ता गतिविधिले उद्यानलाई झापाकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा थप स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।