विराटनगर । कोशी प्रदेश सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राको शैक्षिक पहुँच, निरन्तरता र सशक्तीकरणलाई लक्षित गर्दै आगामी आर्थिक वर्ष २०८३/८४ मा ‘सक्षम छोरी कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। प्रदेश सरकारले उक्त कार्यक्रमका लागि ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
आइतबार प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिङ्थेपले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई केन्द्रमा राखेर सक्षम छोरी कार्यक्रम सञ्चालन गरिने घोषणा गरेका हुन्। सरकारका अनुसार कार्यक्रमबाट प्रदेशभरका करिब २ लाख ७५ हजार छात्रा प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।
प्रदेश सरकारले छात्राहरूको शैक्षिक अवस्था सुधार, विद्यालय छाड्ने दर घटाउने तथा उनीहरूलाई शिक्षामा निरन्तर जोडिराख्ने उद्देश्यले यो कार्यक्रम ल्याएको जनाएको छ। यद्यपि कार्यक्रमअन्तर्गत छात्राहरूले प्राप्त गर्ने सुविधाको विस्तृत कार्यविधि भने पछि सार्वजनिक गरिने बताइएको छ।
शिक्षा क्षेत्रको आधुनिकीकरणलाई पनि प्राथमिकतामा राख्दै सरकारले प्रदेशका १०० वटा सामुदायिक विद्यालयमा डिजिटल बोर्ड जडान गर्न १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रविधिमैत्री शिक्षण सिकाइ प्रणाली विकास गर्ने उद्देश्यले यो कार्यक्रम अघि सारिएको सरकारको भनाइ छ।
आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले शिक्षा तथा खेलकुद क्षेत्रका लागि कुल ३ अर्ब १० करोड रुपैयाँ बजेट छुट्याएको छ। शिक्षा क्षेत्रमा लगानी बढाएर गुणस्तरीय शिक्षा, प्रविधिमैत्री सिकाइ वातावरण र छात्रामैत्री कार्यक्रममार्फत शैक्षिक सुधारलाई तीव्रता दिने सरकारको लक्ष्य रहेको बजेट वक्तव्यमा उल्लेख छ।
प्रदेश सरकारले ल्याएको सक्षम छोरी कार्यक्रमलाई छात्रा शिक्षा प्रवर्द्धनका लागि महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। विशेष गरी आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायका छात्रालाई विद्यालयमा टिकाइराख्न र उनीहरूको शैक्षिक उपलब्धि बढाउन यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ।





















प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।