लोड हुँदैछ...

मेनु

नागरिकको स्वास्थ्यलाई नै विकास मानेको विराटनगर–६

नागरिकको स्वास्थ्यलाई नै विकास मानेको विराटनगर–६

विराटनगर । विकास भनेको सडक, भवन र भौतिक संरचना मात्र होइन, नागरिकको स्वास्थ्य, शिक्षा र जीवनस्तरमा सुधार पनि हो भन्ने उदाहरण बनेको छ, विराटनगर महानगरपालिका–६। सीमित स्रोत र बजेटका बीच पनि वडा नम्बर ६ ले स्वास्थ्यलाई प्राथमिकतामा राख्दै गरिब तथा विपन्न नागरिकको जीवनस्तर उकास्न केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको छ।

करिब १७ हजार जनसंख्या रहेको विराटनगर–६ मा ३४ प्रतिशत मुस्लिम, ३३ प्रतिशत मधेसी र करिब ३० प्रतिशत पहाडी समुदायको बसोबास छ। अधिकांश नागरिक दैनिक ज्यालादारी तथा मजदुरी गरेर जीविकोपार्जन गर्ने भएकाले आर्थिक अभाव यहाँको प्रमुख समस्या हो। यही आर्थिक कमजोरीका कारण सामान्य उपचारसमेत गराउन नसकेर धेरै नागरिकले दुःख पाउने र कतिपयले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था देखेपछि वडा कार्यालयले स्वास्थ्यलाई केन्द्रमा राखेर काम सुरु गरेको हो।

वडाध्यक्ष हरिसचन्द्र सहनीका अनुसार नागरिकको सबैभन्दा ठूलो समस्या स्वास्थ्य उपचार र त्यससँग जोडिएको आर्थिक भार रहेको निष्कर्षपछि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको हो। संविधानले स्वास्थ्य सेवालाई मौलिक हकको रूपमा सुनिश्चित गरे पनि आर्थिक अभावका कारण धेरै नागरिक स्वास्थ्य सेवाबाट वञ्चित रहेको अवस्थालाई अन्त्य गर्न वडा कार्यालयले बीमाको प्रिमियम आफैं तिर्ने व्यवस्था गरेको छ।

गत आर्थिक वर्षमा वडा कार्यालयले ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेर ८१५ विपन्न परिवारको तथ्यांक संकलन गरी स्वास्थ्य बीमा गराएको थियो। तर, गरिब र विपन्नको छुट्टै पहिचान गर्न कठिनाइ भएको तथा सबै नागरिकलाई समेट्न नसकिएको निष्कर्षपछि चालु आर्थिक वर्षदेखि सम्पूर्ण वडावासीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने निर्णय गरिएको छ।

चालु वर्षका लागि ४५ लाख रुपैयाँ बजेट छुट्याइएको छ। वडा सचिव उत्तमदेव जोशीका अनुसार हालसम्म ६ हजार ५ सयभन्दा बढी घरधुरीको स्वास्थ्य बीमा सम्पन्न भइसकेको छ। बीमाको प्रिमियम रकम वडा कार्यालयले नै भुक्तानी गर्ने भएकाले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ।

स्वास्थ्य बीमामा मात्रै सीमित नभई वडा कार्यालयले विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। निःशुल्क स्वास्थ्य शिविर, नसर्ने रोगको परीक्षण तथा उपचार शिविर, बाल स्वास्थ्य शिविरलगायतका कार्यक्रम नियमित सञ्चालन भइरहेका छन्। पाँच वर्षमुनिका बालबालिकाको कुपोषण परीक्षण, निःशुल्क औषधि वितरण तथा पोषणयुक्त खाद्य सामग्री उपलब्ध गराउने कार्यक्रमले विशेष गरी विपन्न परिवारका बालबालिकालाई राहत पुगेको छ।

सुत्केरी महिला तथा नवजात शिशुको स्वास्थ्य सुरक्षालाई पनि वडाले प्राथमिकतामा राखेको छ। महानगरपालिकासँगको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई घरघरमा पठाएर सुत्केरी महिलाको स्वास्थ्य परीक्षण गर्ने, आवश्यक परामर्श दिने तथा पौष्टिक आहार उपलब्ध गराउने कार्यक्रम सञ्चालन भइरहेको छ। यसले मातृ तथा शिशु मृत्युदर घटाउन महत्वपूर्ण योगदान पुर्‍याएको स्थानीयको भनाइ छ।

समाजसेवी छवि बनाएका वडाध्यक्ष सहनीले व्यक्तिगत रूपमा पनि धेरै नागरिकलाई सहयोग गर्दै आएका छन्। आर्थिक रूपमा कमजोर परिवारका बिरामीको उपचार, गरिब परिवारका छोराछोरीको शिक्षादिक्षा, विवाह तथा काजकिरियामा समेत उनले व्यक्तिगत रूपमा सहयोग गर्दै आएका छन्। सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गर्ने उनको शैलीले स्थानीय समुदायमा सकारात्मक प्रभाव पारेको छ।

शिक्षा क्षेत्रलाई पनि वडाले प्राथमिकतामा राखेको छ। वडा भित्र रहेका सबै सामुदायिक विद्यालयका विपन्न विद्यार्थीलाई विद्यालय पोशाक उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसका लागि प्रत्येक विद्यालयलाई वार्षिक एक लाख रुपैयाँ बजेट उपलब्ध गराइन्छ। यो कार्यक्रम मदरसामा अध्ययनरत विद्यार्थीका लागि पनि लागू गरिएको छ।

स्वास्थ्य र सामाजिक क्षेत्रमा बजेटको ठूलो हिस्सा खर्च भएकाले वडा कार्यालयले अन्य वडाजस्तै ठूला पूर्वाधार निर्माण गर्न नसकेको स्वीकार गर्छ। तथापि सामुदायिक भवन निर्माण, नाला तथा रिटेनिङ वाल निर्माण, मन्दिर निर्माण र केही सडक कालोपत्रे गर्ने काम भने निरन्तर भइरहेको छ।

वडाध्यक्ष सहनीका अनुसार नागरिकको स्वास्थ्य सुरक्षित नभएसम्म विकासको अनुभूति हुन सक्दैन। त्यसैले वडा नम्बर ६ ले भौतिक पूर्वाधारभन्दा नागरिकको जीवन र स्वास्थ्यलाई प्राथमिकता दिएको हो। विपद्, रोग, दुःख वा अन्य कुनै समस्यामा नागरिककै बीचमा पुग्ने नेतृत्व शैलीका कारण पनि सहनी स्थानीय समुदायमा लोकप्रिय बनेका छन्।

विराटनगर–६ ले स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षालाई विकासको आधार मानेर अघि बढाएको अभियान स्थानीय सरकारको सफल अभ्यासका रूपमा स्थापित हुँदै गएको छ। सीमित बजेटबीच नागरिकको स्वास्थ्यमा लगानी गरेर विकासको नयाँ परिभाषा प्रस्तुत गरेको यो वडा अहिले विराटनगरकै फरक वडाका रूपमा चिनिन थालेको छ।

गत जेनजी आन्दोलनको क्रममा वडा कार्यालयमा तोडफोड र आगजनी गरिएपछि वडाको काम केहि समय प्रभावित भएको थियो । अहिले वडा कार्यालयका नयाँ भवन निर्माणधिन छ । २ करोड २९ लाख ३७ हजार रुपैयाँ लागतमा न्यु विजय निर्माण सेवाले भवन निर्माणको काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।