लोड हुँदैछ...

मेनु

कोशीसहित देशका विभिन्न प्रदेशमा वर्षाको सम्भावना

कोशीसहित देशका विभिन्न प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । केही दिनदेखिको अत्यधिक गर्मीपछि आज देशभरको मौसममा फेरबदल भई कोशीसहितका विभिन्न प्रदेशहरूमा वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

यसैगरी, मधेस, कोशी, वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा पनि वर्षाको संकेत देखिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा समेत मेघगर्जनसहित पानी पर्न सक्ने विभागले जनाएको छ।

मौसमविद् विनोद पोखरेलका अनुसार आगामी दुई दिन लुम्बिनी, वाग्मती र मधेस प्रदेशका दक्षिणी भागहरूमा भारी वर्षा हुने सम्भावना छ। भारी वर्षाका लागि अनुकूल वातावरण बनाउने बादल पछिल्लो १० घण्टादेखि विकसित भइरहेको उनले जानकारी दिएका छन्।

विभागका अनुसार राति पनि देशभरको मौसम बदली रहनेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग, कोशी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा पनि चट्याङसहित वर्षा हुन सक्नेछ।

विगत केही दिनदेखि लगातार तातो हावाको लहर (लु) को पूर्वानुमान गर्दै आएको विभागले आज भने यस्तो कुनै चेतावनी जारी गरेको छैन। धेरै ठाउँमा वर्षाको सम्भावना रहेकाले बढ्दो गर्मीबाट केही राहत मिल्ने देखिएको छ।

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको संयुक्त प्रभाव रहेका कारण मौसममा यस्तो परिवर्तन आएको मौसमविद्हरूले बताएका छन्। विभागले वर्षा र चट्याङको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।