लोड हुँदैछ...

मेनु

पोखरीमा रहस्यमय रूपमा माछा मरेपछि विषादी हालिएको आशंकामा अनुसन्धान

पोखरीमा रहस्यमय रूपमा माछा मरेपछि विषादी हालिएको आशंकामा अनुसन्धान

विराटनगर । मोरङको जहदा गाउँपालिका–१ मा रहेको व्यावसायिक माछापालन पोखरीमा एक्कासि ठूलो संख्यामा माछा मरेपछि माछापालक चिन्तित बनेका छन्।

घटनामा कसैले विषादी वा अन्य विषाक्त पदार्थ प्रयोग गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार धर्मदेव साहको करिब डेढ बिघा क्षेत्रफलमा फैलिएको पोखरीमा बुधबार बिहान माछा मरेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। पोखरी विराटनगर–१४ का सुशील यादव, दिना यादव, अनमोल यादव र रामचन्द्र यादवले भाडामा लिएर व्यावसायिक रूपमा सञ्चालन गर्दै आएका थिए।

प्रारम्भिक निरीक्षणका क्रममा पोखरीमा करिब ३० किलो माछा मरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। एकैपटक ठूलो परिमाणमा माछा मर्न थालेपछि पोखरीमा विषादी वा अन्य विषाक्त पदार्थ हालिएको हुन सक्ने आशंका गरिएको छ। घटनापछि माछापालकले आर्थिक क्षतिको आँकलन सुरु गरेका छन्।

प्रहरीले माछा मर्नुको वास्तविक कारण अझै खुल्न नसकेको जनाएको छ। घटनाको सत्यतथ्य पत्ता लगाउन पोखरीको पानी, वातावरणीय अवस्था तथा अन्य सम्भावित पक्षबारे अध्ययन भइरहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।