लोड हुँदैछ...

मेनु

रास्वपा मोरङको पहिलो अधिवेशन: सभापतिमा भरत कँडेल र सचिवमा दिवस नेपाल निर्वाचित

रास्वपा मोरङको पहिलो अधिवेशन: सभापतिमा भरत कँडेल र सचिवमा दिवस नेपाल निर्वाचित

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको ऐतिहासिक प्रथम जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा भरत कँडेल निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न अधिवेशनको निर्वाचन प्रक्रियामा कँडेलले आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई भारी मतान्तरले पराजित गर्दै नेतृत्व सम्हालेका हुन् ।

कुल ४८६ मत खसेको निर्वाचनमा सभापति पदका विजयी उम्मेदवार कँडेलले २८३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी कोषराज खनालले १३४ मत र अर्का उम्मेदवार सागर फुयाँलले ५६ मत प्राप्त गरे । विजयी कँडेल रास्वपा मोरङका संस्थापक सभापति हुन् भने उनी शिक्षण पेसाबाट राजनीतिमा आएका हुन् । सभापतिका अन्य उम्मेदवारमध्ये फुयाँल शैक्षिक व्यवसायी हुन् भने खनाल वैदेशिक रोजगारीबाट फर्केर पार्टी स्थापनाकालदेखि नै सक्रिय रहँदै आएका थिए ।

त्यसैगरी, सचिव पदमा दिवस नेपाल निर्वाचित भएका छन् । अत्यन्तै प्रतिस्पर्धात्मक मत परिणामका बीच नेपाल १३० मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी ई. सुरेश श्रेष्ठले १२४ मत प्राप्त गरे । सचिव पदका अन्य उम्मेदवारहरू बुद्धिनाथ अधिकारीले ११९ र कुमार खुलालले १०३ मत ल्याएका थिए । सचिवमा निर्वाचित नेपाल यसअघि नेपाली कांग्रेस विराटनगर महानगरको उपसचिव रहेका थिए र ‘जेन्जी आन्दोलन’ पछि रास्वपामा आबद्ध भएका थिए ।

यस्तै, सह–सचिव पदमा सिर्जना गिरी ३२३ मतका साथ सानदार जित निकाल्न सफल भइन् । उनका प्रतिस्पर्धी सन्तोष सिंहले १४६ मत प्राप्त गरे । उपाध्यक्ष पदमा भने बिमला बस्नेत यसअघि नै निर्विरोध निर्वाचित भइसकेकी थिइन् ।

जिल्ला कार्यसमितिको ४ सदस्य पदका लागि भएको निर्वाचनमा ६ जना बीच प्रतिस्पर्धा भएको थियो । जसमा भावना बस्नेत श्रेष्ठ (२९४ मत), युवराज ओझा (२५८ मत), ओम प्रकाश श्रेष्ठ (२५७ मत) र लक्ष्मी श्रेष्ठ (१९६ मत) प्राप्त गरी विजयी भए । सदस्यका अन्य प्रत्यासीहरू मध्ये परमेश्वर साहले १८१ र महेश कुमार खनाल तथा युवराज कार्कीले समान १५७ मत प्राप्त गरेका थिए ।

रास्वपाको विधानअनुसार ९ सदस्यीय जिल्ला कार्यसमितिमा पदाधिकारीसहित निर्वाचित सदस्यहरू रहनेछन् भने कोषाध्यक्षको चयन निर्वाचित समितिले पछि गर्ने व्यवस्था छ । समितिमा २ जना सदस्य मनोनीत गरिने र पालिका सभापतिहरू स्वतः पदेन सदस्य रहने प्रावधान छ । अधिवेशनले जिल्ला नेतृत्वसँगै क्षेत्रीय सभापतिहरूको समेत चयनको प्रक्रिया अघि बढाएको छ । नव निर्वाचित नेतृत्वले मोरङमा रास्वपाको संगठनलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds