लोड हुँदैछ...

मेनु

कोशी पहाडमा वर्षाको सम्भावना, तराइमा सफा रहनेछ मौसम

कोशी पहाडमा वर्षाको सम्भावना, तराइमा सफा रहनेछ मौसम

विराटनगर । नेपालमा हाल पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण कोशी प्रदेशसहित देशका विभिन्न भागको मौसममा परिवर्तन देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशमा आज दिउँसो र राति नै साधारणतया बदली रहने छ। आज दिउँसो कोशी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने राति पनि प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

कोशी बाहेक अन्य प्रदेशहरूको हकमा, आज दिउँसो देशका अन्य हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेश र बाँकी पहाडी भूभागमा आंशिक बदली रही एक–दुई स्थानमा वर्षा हुन सक्नेछ। तराईका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने देखिन्छ। विशेषगरी मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा आज तातो हावा चल्ने र ‘तातो दिन’ हुने सम्भावना रहेको छ।

यसैगरी, आज राति मधेस प्रदेश र बाँकी पहाडी भूभागमा आंशिक बदली रहनेछ। मधेस प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदलीको अवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds