विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–७ की विष्णु गिरीले दुई हप्ता अगाडि जिल्ला प्रशासन कार्यालय मोरङमा सुनचाँदी पसलले ठगी गरेको भन्दै निवेदन दिइन् । वर्षौंदेखि ठगीमा परेकी उनले बालेन शाह नेतृत्वको सरकार बनेपछि आफ्नो डुबेको २९ लाख रूपैयाँ बढी रकम फिर्ता गराइदिने आशामा निवेदन दिइन् ।
निवेदन लगत्तै जिल्ला प्रशासन कार्यालय मोरङले मानिस झिकाउने, बयान लिने र निवेदनको फर्छ्योटका लागि तदारुकता देखाइरहेको छ । सुनचाँदी पसलबाट ठगीमा पर्ने गिरी एक्लो होइनन् । गिरी जस्तै अन्य सयौं व्यक्ति ठगीमा परेका छन् । सुनचाँदी व्यवसाय गर्ने होमनाथ अधिकारी भने अहिले अमेरिकामा लुकेर बसेका छन् ।
केही दिन अगाडि मात्रै झापा र मोरङका गाउँबस्तीका सयौं युवालाई वैदेशिक रोजगारीमा लैजाने भन्दै लाखौं रकम ठगी गरिरहेका मोरङ सिजुवाका उद्धव पाठकलाई प्रहरीले पक्राउ गर्यो । रोमानिया बस्दै आएका उनले मोरङको उर्लाबारी नगरपालिका(३ मा केएसए इन्टरनेसनल म्यानपावर स्थापना गरेर सोही मेनपावरमार्फत रोमानिया लैजाने भन्दै युवाहरुलाई ठगी गरिरहेका थिए ।
उनी विरुद्ध उर्लाबारी–३ का आशिष कार्की लगायतले निवेदन दिएपछि प्रहरीले सक्रियता देखाउँदा पाठक पक्राउ परेका हुन् । पाठक पक्राउ परेको खबरसँगै उनीबाट पीडित हुनेहरु प्रशासन कार्यालयको सम्पर्कमा दिनहुँ आइरहेका छन् ।
झापाको कमल गाउँपालिका–१ का पवन कार्कीले सोही म्यानपावरलाई साढे ७ लाख रुपैयाँभन्दा बढी रकम बुझाएका छन् । भिसा र टिकट सबै तयार भएको भनेपछि उनी भारतको नयाँ दिल्लीसम्म पुगे । तर हवाई टिकट नक्कली भएको खुलेपछि उनी नेपाल नै फर्किए । त्यसपछि नेपाल फर्किएका उनलाई रोमानिया लैजाने कुरा कुरामै सीमित भयो । उनीजस्तै मोरङका जीवन लिम्बू र झापाका उमेश खत्रीलाई पनि पाठकले ठगी गरेका छन् ।
मोरङको रतुवामाई नगरपालिका–८ का ३७ वर्षीय पाठकले रोमानिया पठाउने नाममा सयौं व्यक्तिबाट करोडौं रुपैयाँ असुली गरिएको अनुसन्धानबाट खुलेको प्रहरी बताउँछ । ‘हालसम्म १५५ व्यक्तिगत र ११३ जनाको सामूहिक निवेदन दिएका छन्,’ मोरङ प्रहरीका प्रवक्ता मकेन्द्रकुमार मिश्रले भने, ‘ठगी गरिएको रकम २ करोड ५० लाख रुपैयाँभन्दा बढी पुगेको छ ।’ सुरुमा पाठक विरुद्ध १६ लाख ठगी गरेको भनेर निवेदन परेको थियो । अहिले पाठक विरुद्ध निवेदन दिनेहरु बढिरहेको मिश्रले बताए ।
बालेन शाह नेतृत्वमा नयाँ सरकार बनेसँगै ठगीबारे निवेदन दिनेको संख्या बढिरहेको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङमा २०८३ साल वैशाख १ गतेयता मात्रै वैदेशिक रोजगारीका नाममा ठगीमा परेको भन्ने नयाँ निवेदन दिनेको संख्या ६५ छ ।
कोइरालाका अनुसार सोही अवधिमा प्रशासन कार्यालयले ८८ लाख ६२ हजार रुपैयाँ रकम पीडितलाई फिर्ता गराएको छ भने ३० वटा मुद्दा फर्छ्योट भएको छ । प्रशासन कार्यालयले हालसम्म ठगीमा संलग्न भनिएका व्यक्ति तथा संस्थाको गरेर ९ वटा खाताबाट हुने कारोबार पूर्ण रुपमा बन्द गराएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धी ठगीको चित्र पनि भयावह छ । चालु आर्थिक वर्षको २०८२ चैत २७ गतेसम्मको विवरण अनुसार प्रशासन कार्यालयमा १६९ वटा उजुरी परेका छन् । जसमध्ये ५० वटा मुद्दा फर्छ्योट हुँदा ८ करोड ३८ लाख ५४ हजार ८२७ रुपैयाँ नगद र ९ विगाहा १२ कठ्ठा ९ धुर जग्गा पीडितलाई फिर्ता भएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।