विराटनगर । किरात राई समुदायको भाषिक र सांस्कृतिक विरासतलाई जीवन्त राख्ने प्रयासस्वरूप विराटनगरमा वान्तवा भाषासँग सम्बन्धित स्मारिका सार्वजनिक गरिएको छ । किरात राई यायोक्खा महानगर समिति विराटनगरले प्रकाशन गरेको उक्त कृतिको शुक्रबार आयोजित एक समारोहका बीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विमोचन गरे । सो अवसरमा मेयर कोइरालाले मातृभाषाको जगेर्ना नै सांस्कृतिक विविधताको मुख्य जग भएको उल्लेख गर्दै स्थानीय सरकारले भाषा-संस्कृति संरक्षणका अभियानमा सदैव सहयोग गर्ने प्रतिबद्धता जनाए ।
विमोचित स्मारिकामा किरात राई जातिको ऐतिहासिक पृष्ठभूमि, मौलिक संस्कृति र वान्तवा भाषाको विकासक्रमका बारेमा विविध सामग्रीहरू समेटिएका छन् । यस पुस्तकले नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचान र पुर्ख्यौली इतिहाससँग जोड्न महत्वपूर्ण पुलको काम गर्ने अपेक्षा गरिएको छ । स्मारिका विमोचनसँगै सोही अवसरमा विराटनगर महानगरपालिकाको सहयोगमा किरात राई वान्तवा खिमद्वारा सञ्चालित एकमहिने वान्तवा भाषा प्रशिक्षण कार्यक्रमको समापन समेत गरियो ।
उक्त प्रशिक्षणमा प्रमुख प्रशिक्षक सुजाता राई र सहयोगी प्रशिक्षक खड्गबहादुर राईले ६० भन्दा बढी प्रशिक्षार्थीहरूलाई वान्तवा भाषाको लिपि, शुद्ध उच्चारण, व्याकरण र व्यवहारिक प्रयोगका बारेमा सिकाएका थिए । कार्यक्रममा नगर प्रमुख कोइराला र यायोक्खा महानगर समितिकी अध्यक्ष विष्णुकुमारी राईले सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए । विष्णुकुमारी राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भुजेल समाज विराटनगरका अध्यक्ष पूर्ण भुजेल, किरात राई वान्तवा खिमका केन्द्रीय अध्यक्ष ज्ञान किराती र किरातेश्वर माङ्खिमका अध्यक्ष धर्मराज म्याङ्बो लगायतले भाषिक अभियानको महत्वमाथि प्रकाश पारेका थिए ।
समारोहमा वक्ताहरूले मौलिक ज्ञान र पहिचानलाई भावी पुस्तामा हस्तान्तरण गर्न यस्ता प्रशिक्षण र प्रकाशनहरू प्रभावकारी हुने धारणा राखे । समितिका अनुसार विराटनगर महानगर क्षेत्रभित्र वान्तवा भाषा बोल्ने राई समुदायका करिब ४२५ घरधुरी रहेका छन् । समुदायका युवा र बालबालिकाहरूलाई आफ्नो मातृभाषाप्रति गौरव गर्न सिकाउने उद्देश्यले आगामी दिनमा पनि यस्ता प्रशिक्षण, साहित्य प्रकाशन र सांस्कृतिक कार्यक्रमहरूलाई थप व्यापक र निरन्तरता दिइने आयोजकले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।