लोड हुँदैछ...

मेनु

कोशी प्रदेशमा वर्षाको सम्भावना, तराईका अन्य क्षेत्रमा ‘तातो दिन’ को चेतावनी

कोशी प्रदेशमा वर्षाको सम्भावना, तराईका अन्य क्षेत्रमा ‘तातो दिन’ को चेतावनी

विराटनगर । हाल नेपालमा पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले कोशी प्रदेश लगायत मुलुकका विभिन्न भागमा मौसम फेरबदल हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा आज दिउँसो चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, आज राती पनि कोशी प्रदेशमा साधारणतया बादल लाग्ने र थोरै स्थानहरूमा हल्का वर्षा हुने देखिएको छ ।

कोशी बाहेक लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका अन्य हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा पनि आज दिउँसो चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ । वर्षाको सम्भावना रहे तापनि मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा भने आज गर्मी बढ्ने र ‘तातो दिन’ हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । रातीको समयमा देशका अन्य हिमाली भूभागका थोरै स्थानहरू तथा मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

हालको मौसमी अवस्था हेर्दा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने तराईमा मौसम मुख्यतया सफा रहेको छ । अहिले बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभरका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराईका भूभागमा आंशिक बदली रहने जानकारी महाशाखाले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।