विराटनगर । विराटनगरलगायत लराई क्षेत्रमा गर्मी बढ्न थालेको छ । चैत महिनादेखि नै अधिकांश दिनहरुमा वर्षा भएका कारण पूर्वी नेपालमा यस वर्ष जेठ १५ गतेसम्म खासै गर्मी महशुस भएको थिएन । तर वर्षा कम भएसँगै गर्मी बढ्न थालेको हो । मौसमविदहरुका अनुसार अबका केही दिन पानी पर्न कम हुने भएकाले गर्मी बढ्ने छ ।
मौसमविद उज्ज्वल उपाध्यायका अनुसार मनसुन भित्रिन पनि अझै केही दिन लाग्ने र पश्चिमी वायुको प्रभाव पनि कमजोर देखिएकाले आउँदो एक हप्ता गर्मी बढ्दै जाने छ । गर्मीको बढी प्रभाव तराई मधेशका जिल्लाहरुमा देखिने छ । उनले भनेका छन्, ‘आउँदो एक हप्ता त्यति सजिलो छैन । अब एक साता गर्मी बढ्दै जाने देखियो । तराई फेरि पाक्ने भयो ।’
मनसुनी बादल सोमबार दिउँसो भारतको पश्चिमीघाट केरला पुगे पनि बादलको घनत्व र गती दुवै कमजोर देखिएकाले यो प्रणाली नेपालसम्म आइपुग्न केही दिन लाग्ने अनुमान गरिएको छ ।
अघिल्ला दिनहरुमा विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँठाउँमा वर्षा भएको थियो । वर्षाका कारण तापक्रम घटेपछि शीतल महसुस भएको थियो । तर अब तापक्रम विस्तारै उकालो लाग्ने सम्भावना छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।