लोड हुँदैछ...

मेनु

विद्यार्थीलाई ‘काबिल’ बनाउँदै पञ्चायत मावि

विद्यार्थीलाई ‘काबिल’ बनाउँदै पञ्चायत मावि

पथरी । शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल पथरी शनिश्चरेस्थित श्री पञ्चायत माध्यमिक विद्यालयले नयाँ शैक्षिक सत्र २०८३ को आरम्भ हुनुअगावै कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको विज्ञान ब्लकस्थित सभाहलमा आयोजित उक्त कार्यक्रममार्फत विद्यार्थीहरूलाई शैक्षिक मार्गनिर्देशन र भविष्यको मार्गचित्रबारे स्पष्ट पारिएको छ ।

विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थी र अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो । एसइई नतिजामा जीपीए ४ सहित नगरमै उत्कृष्ट स्थान हासिल गर्न सफल यस विद्यालयले नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूको उज्ज्वल भविष्यका लागि विद्यालय एउटा बलियो आधार स्तम्भ रहेको दाबी गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक बुढाथोकीले भने ‘पञ्चायत मावि भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरका हिसाबले मात्र होइन, बरु विद्यार्थीको रोजाइ र खोजाइको केन्द्रका रूपमा स्थापित भएको छ । हामी विद्यार्थीलाई केवल किताबी ज्ञान मात्र दिँदैनौँ, उनीहरूलाई जीवनको प्रतिस्पर्धामा अब्बल र ‘काबिल’ बनाउन कटिबद्ध छौँ ।’

अङ्ग्रेजी विषय शिक्षक गणेश विष्टले सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न विषयका विज्ञ शिक्षकहरूले विद्यार्थीलाई विषयगत परामर्श दिएको थियो । रसायन विज्ञान शिक्षक दोर्ण सिग्देल, भौतिक विज्ञान शिक्षक नारायण खनाल, जीवविज्ञान शिक्षक चक्रधर गौतम, नेपाली विषय शिक्षक सरोज अधिकारी, गणित शिक्षक उपेन्द्रकुमार मण्डल र कम्प्युटर प्रशिक्षक अर्जुन परियारले विषयगत महत्त्व, परीक्षा प्रणाली र करियर निर्माणका बारेमा सहजीकरण गरेका थिए । गुरुजनहरूको सिर्जनशील र उत्प्रेरणादायी प्रस्तुतिपछि विद्यार्थीहरू विद्यालयप्रति थप उत्साहित देखिएका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष युवराज बास्कोटाले सामुदायिक विद्यालयको गरिमा बचाउन अभिभावक, विद्यार्थी र शिक्षकको त्रिकोणात्मक सहकार्य आवश्यक रहेकोमा जोडदिए । । उनले भने ‘अभिमुखीकरण केवल अभिनय मात्र होइन, यो सिकाइको भोक जगाउने माध्यम बन्नुपर्छ । विद्यार्थीले केवल अंकका लागि मात्र नभई सामाजिक उत्तरदायित्व र असल नागरिक बन्नका लागि अध्ययन गर्नुपर्छ ।’ बास्कोटाले एसइईको नतिजा नै अन्तिम नभएको भन्दै कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने गरी मेहनत गर्न विद्यार्थीहरूलाई आग्रह गरे ।

कोशी प्रदेश सरकारको ‘नमुना विद्यालय प्रवर्धन कार्यक्रम’ अन्तर्गत छनौट भएको यस विद्यालयमा विज्ञानबाहेक अन्य ८ वटा विभिन्न विषयहरूको पठनपाठन हुँदै आएको छ । उत्कृष्ट शैक्षिक वातावरण र गुणस्तरीय नतिजाकै कारण यहाँ पथरी शनिश्चरे मात्र नभई लेटाङ, कानेपोखरी, सुनवर्षी, उर्लाबारी र झापाका विभिन्न पालिकाबाट समेत विद्यार्थीहरू अध्ययनका लागि आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।