विर्तामोड । झापाको मेचीनगरमा आपसी विवादका क्रममा भएको कुटपिटबाट एक जनाको मृत्यु भएपछि प्रहरीले हत्या अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेको छ।
मेचीनगर नगरपालिका–१५ निलकोठी निवासी ५५ वर्षीय रुद्र श्रेष्ठको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा तनहुँ घर भई हाल मेचीनगर–१५ स्थित माँ पाथीभारा प्लाई फ्याक्ट्रीमा कार्यरत ३५ वर्षीय रामबहादुर गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार आइतबार राति फ्याक्ट्री परिसरमा श्रेष्ठ र गौतमबीच कुनै विषयलाई लिएर विवाद भएको थियो। विवाद चर्किएपछि गौतमले श्रेष्ठमाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो।
उपचारकै क्रममा सोमबार बिहान श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको टोलीले आरोपित गौतमलाई पक्राउ गरेको हो।
प्रहरीले घटनास्थलको निरीक्षण गर्नुका साथै प्रत्यक्षदर्शी र सम्बन्धित व्यक्तिहरूसँग बयान लिने काम गरिरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा घटना आपसी वादविवादबाट सुरु भएको देखिए पनि विवादको वास्तविक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
मृतक श्रेष्ठको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ। पोस्टमार्टम प्रतिवेदनपछि मृत्युको यथार्थ कारणबारे थप विवरण आउने अपेक्षा गरिएको छ।
पक्राउ परेका गौतमविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।