धनकुटा । बजारमा कोल्ड ड्रिंक्सको प्रयोग बढ्दो क्रममा रहेका बेला धनकुटामा उत्पादन भइरहेको परम्परागत नेपाली पेय पदार्थ मही उपभोक्ताको रोजाइमा पर्न थालेको छ।
रसायनयुक्त चिसा पेय पदार्थको विकल्पका रूपमा स्थानीयस्तरमा उत्पादन गरिएको ‘दुर्गा मही’ अहिले विवाह, भोज, सभा–सम्मेलनदेखि होटल तथा घरायसी कार्यक्रमसम्म पुग्न थालेको छ।
धनकुटा नगरपालिका–१ हिलेस्थित सिंहदेवी डेरी उद्योगले उत्पादन गर्दै आएको ‘दुर्गा मही’ पछिल्लो समय स्थानीय बजारमा लोकप्रिय बन्दै गएको हो। उद्योगका सञ्चालक राजु घिमिरेले परम्परागत नेपाली पेय पदार्थलाई आधुनिक ब्रान्डका रूपमा स्थापित गर्ने उद्देश्यले २०८० सालदेखि मही उत्पादन सुरु गरेका थिए।
२०७५ सालदेखि डेरी व्यवसाय सञ्चालन गर्दै आएका घिमिरेले सुरुमा नैनी, पनिर र छुर्पी उत्पादन गर्दै आएका थिए। तर बजारमा बाह्य उत्पादनको प्रतिस्पर्धा बढ्दै जाँदा व्यवसाय टिकाउन चुनौती थपिएपछि उनले नयाँ विकल्पको खोजी गरेका थिए। त्यसक्रममा नेपाली समाजमा परम्परागत रूपमा प्रयोग हुँदै आएको महीलाई व्यावसायिक रूपमा बजारमा ल्याउने योजना बनाएको उनले बताए।
‘हामी सानैदेखि मही खाएर हुर्केका हौं। तर बजारमा यसको ब्रान्ड थिएन,’ घिमिरेले भने, ‘त्यही सम्भावना देखेर हामीले दुर्गा मही उत्पादन सुरु गरेका हौं।’
सुरुवाती चरणमा बजारको प्रतिक्रिया कस्तो हुन्छ भन्ने अन्योल रहे पनि अहिले माग बढ्दै गएको उनको भनाइ छ। हाल उद्योगमा दैनिक तीन सय लिटरभन्दा बढी मही उत्पादन भइरहेको छ। विशेष कार्यक्रम, मेला तथा समारोहका बेला माग अझ बढ्ने गरेको छ।
एक लिटरको आकर्षक बोतलमा प्याकिङ गरिएको मही हिले, पाख्रिवास, सिधुवा लगायतका क्षेत्रमा बिक्री हुँदै आएको छ। स्थानीय होटल तथा विभिन्न सामाजिक कार्यक्रममा समेत यसको प्रयोग बढ्न थालेको छ।
स्थानीय उपभोक्ता विमल दाहालका अनुसार कोल्ड ड्रिंक्सको सट्टा मही प्रयोग गर्न थालेपछि फरक अनुभव भएको छ। ‘यो स्वादिलो छ, स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ,’ उनले भने।
महीलाई प्राकृतिक, पौष्टिक तथा शरीरका लागि लाभदायक पेय पदार्थका रूपमा लिने गरिन्छ। विशेषगरी गर्मी मौसममा यसले शरीरलाई शीतल बनाउने, पाचन प्रक्रिया सुधार गर्ने तथा ऊर्जा प्रदान गर्ने विश्वास छ। ग्रामीण जीवनशैलीसँग गहिरो सम्बन्ध रहेको मही पछिल्लो समय आधुनिक प्याकेजिङमार्फत पुनः बजारमा स्थापित हुन थालेको छ।
खाद्य गुणस्तर तथा नापतौल विभागको मापदण्डअनुसार उत्पादन हुने ‘दुर्गा मही’ करिब एक सातासम्म प्रयोग गर्न मिल्ने बताइएको छ। सञ्चालक घिमिरेका अनुसार उत्पादनमा सफाइ, गुणस्तर र स्वादलाई विशेष प्राथमिकता दिइएको छ।
उनले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न तीनै तहका सरकारले पनि पहल गर्नुपर्ने बताए। ‘विद्यालय, सभा–सम्मेलन तथा सार्वजनिक कार्यक्रममा स्थानीय उत्पादन प्रयोग गर्ने वातावरण बने धेरै उद्यमीलाई फाइदा पुग्छ,’ उनले भने।
स्थानीय उत्पादनलाई आधुनिक बजारसँग जोड्ने सफल प्रयासका रूपमा ‘दुर्गा मही’ अहिले धनकुटामा नयाँ पहिचान बनाउँदै कोल्ड ड्रिंक्सको विकल्पका रूपमा स्थापित हुँदै गएको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।