लोड हुँदैछ...

मेनु

सहकारीमा देखिएको समस्या विश्वव्यापी वित्तीय अस्थिरताको उपज

सहकारीमा देखिएको समस्या विश्वव्यापी वित्तीय अस्थिरताको उपज

विराटनगर । राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले सहकारी क्षेत्रमा देखिएका वर्तमान समस्यालाई विश्वव्यापी वित्तीय अस्थिरतासँग जोडेर विश्लेषण गर्नुपर्ने बताएका छन् । सहकारी अभियानभित्र अन्योल सिर्जना भएको भाष्य स्थापित गर्न खोजिए पनि यसलाई तथ्यपरक रूपमा हेर्नुपर्ने उनको तर्क छ ।

विराटनगरस्थित राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित ‘राष्ट्रसेवक सहकारीहरूको वर्तमान अवस्था, चुनौती र सम्भावना’ विषयक दुईदिने अन्तर्क्रियाको शनिबार उद्घाटन गर्दै पोखरेलले कोभिड–१९ महामारी, युक्रेन युद्ध र इन्धन आपूर्तिमा आएको अवरोधले समग्र अर्थतन्त्रसँगै सहकारी क्षेत्र पनि प्रभावित भएको उल्लेख गरे । ‘यी विश्वव्यापी प्रभावहरू सहकारी क्षेत्रमा अपेक्षाकृत बढी देखिएका छन्,’ उनले भने, ‘सहकारी अभियानले यी समस्याको गहिरो विश्लेषण गर्दै सुधारका उपायसहित अघि बढ्नुपर्छ ।’

उनले सहकारी अभियानभित्र शुद्धीकरणको आवश्यकता औंल्याउँदै यस क्षेत्रले मुलुकको आर्थिक र सामाजिक विकासमा पुर्‍याएको योगदान बिर्सन नहुने बताए । हाल देशभर ३२ हजारभन्दा बढी सहकारी संस्थामा लाखौं सदस्य आबद्ध रहेको र १२ खर्ब रुपैयाँभन्दा बढीको कारोबार भइरहेको तथ्यांक प्रस्तुत गर्दै उनले यसलाई सहकारी आन्दोलनको महत्वपूर्ण उपलब्धि बताए ।

‘महिला सशक्तीकरण, साक्षरता र वित्तीय पहुँचमा सहकारीले उल्लेखनीय काम गरेका छन्, त्यसैले संविधानमै सहकारीलाई अर्थतन्त्रको तीनमध्ये एक प्रमुख खम्बाका रूपमा स्थापित गरिएको हो,’ पोखरेलले स्मरण गरे । केही गलत प्रवृत्तिका व्यक्तिहरू सहकारीमा प्रवेश गर्दा र नीति–नियमको पालना नगर्दा समग्र अभियानको छविमा असर पुगेको उनको भनाइ थियो ।
सहकारीको मूल मर्म र सिद्धान्तअनुसार संस्था सञ्चालन गरे समस्या नआउनेमा उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था विराटनगरका अध्यक्ष जीवन काफ्लेले ऐन र नियमअनुसार चल्न नसक्ने संस्थाहरूलाई खारेज गर्नुपर्ने धारणा राखे । सदस्यहरूको बचत समयमै फिर्ता गरेर संस्था व्यवस्थित रूपमा बन्द गरे समस्या जटिल नहुने उनको सुझाव थियो ।

आइतबारसम्म चल्ने उक्त कार्यक्रममा देशभरका राष्ट्रसेवक सहकारीका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।