लोड हुँदैछ...

मेनु

माइतीघरमा सुकुम्बासीको प्रदर्शन, डोजर आतंक विरुद्ध नाराबाजी

माइतीघरमा सुकुम्बासीको प्रदर्शन, डोजर आतंक विरुद्ध नाराबाजी

काठमाडौं । भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले काठमाडौंको माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

विस्थापित गरिएका सुकुम्बासीको उचित व्यवस्थापन गर्नुपर्ने माग गर्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको अगुवाइमा शुक्रबार प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीहरूले ‘सिंहदरबार रमायो–सुकुम्बासी रुवायो’, ‘नेताको महल ठीक–गरिबको टहरा बेठिक’, ‘जनताको सरकार कि डोजरे सरकार ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए । उनीहरूले गणतन्त्र पक्षमा र सरकारविरुद्ध मिश्रित नाराबाजी समेत गरेका थिए ।

माइतीघर मण्डलाबाट सुरु भएको र्‍याली नयाँ बानेश्वरसम्म पुगेको थियो । प्रदर्शनका क्रममा सहभागीहरूले सिटी बजाएर सरकारलाई खबरदारी गरेका थिए ।

प्रदर्शनकारीहरूले राज्यले वैकल्पिक व्यवस्था नगरी जबरजस्ती उठीबास लगाएको आरोप लगाएका छन् । उनीहरूका अनुसार सरकारले डोजर प्रयोग गरेर सुकुम्बासी बस्ती हटाउने काम गरिरहेको छ, जसले गरिब तथा भूमिहीन नागरिक थप पीडित बनेका छन् ।

प्रदर्शनमा अधिकारकर्मी, नागरिक समाजका अगुवा, बुद्धिजीवी तथा जेनजी युवाहरूले पनि ऐक्यबद्धता जनाएका थिए । उनीहरूले सुकुम्बासीमाथिको ‘डोजर आतंक’ बन्द गर्न र विस्थापित परिवारको सम्मानजनक व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।