काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाक्रममा सूक्ष्म अनुसन्धान गर्न चलचित्र निर्देशक निश्चल बस्नेतसहितका कलाकार तथा प्रभावशाली व्यक्तिहरूलाई सिफारिस गरेको छ।
बुधबार सार्वजनिक गरिएको आयोगको प्रतिवेदनमा आन्दोलनका क्रममा भएका गतिविधि र त्यसमा संलग्न व्यक्तिहरूको भूमिकाबारे गहिरो अनुसन्धान गर्नुपर्ने उल्लेख गरिएको छ। आयोगले निर्देशक बस्नेतका साथै चर्चित युट्युबर सिसन बानियाँ, टेलिभिजन निर्देशक तथा रियालिटी शो प्रस्तोता अमनप्रताप अधिकारी र कन्टेन क्रिएटर निशान मैनालीमाथि सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको हो।
आयोगको प्रतिवेदन अनुसार, अनुसन्धानको घेरामा कलाकारहरू मात्र नभई उक्त प्रदर्शनका आह्वानकर्ता, विभिन्न अभियन्ताहरू र समर्थकहरू समेत रहेका छन्। आन्दोलनका क्रममा भएका प्रदर्शन, त्यसको परिचालन र सामाजिक प्रभावलाई मध्यनजर गर्दै आयोगले यी व्यक्तिहरूमाथि छानबिन गर्न आवश्यक ठानेको हो।
जेनजी आन्दोलनका क्रममा सार्वजनिक सुरक्षा र मानवअधिकारका सवालहरू उठेको भन्दै आयोगले ती घटनाहरूको सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएको छ। आयोगले प्रदर्शनमा सहभागी भएका र समर्थन जनाएका अन्य व्यक्तिहरूको भूमिकाबारे पनि अनुसन्धान गर्न भनेको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।