विराटनगर । सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा प्रवर्द्धन गर्ने उद्देश्यले विराटनगरको बरगाछीदेखि कञ्चनबारीसम्म सडक डिभाइडरमा सोलार वार्निङ लाईट जडान गरिएको छ ।
स्थानीय जागरुक युवाहरुको समूहले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको समन्वयमा आइतबार साँझ एक दर्जनभन्दा बढी सोलार वार्निङ लाईट जडान गरेका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेका अनुसार रातिको समयमा कम दृश्यात्मकताका कारण हुन सक्ने सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्न तथा सवारी चालकलाई टाढैबाट डिभाइडर पहिचान गर्न सहज बनाउन लाईट जडान गरिएको हो ।
“रातिको समयमा सडक डिभाइडर स्पष्ट नदेखिँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले सोलार वार्निङ लाईट जडान गरिएको हो । यसले सवारी चालकलाई सतर्क गराउँदै सडक सुरक्षामा सहयोग पुर्याउने विश्वास लिएका छौं,” प्रहरी निरीक्षक न्यौपानेले भने ।
ट्राफिक प्रमुख न्यौपानेले सडक अनुशासन र सुरक्षामा सुधार ल्याउन सहयोग गर्ने युवाहरुको समूहलाई धन्यवादसमेत व्यक्त गरे ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार आगामी दिनमा कञ्चनबारीदेखि ढाटसम्म पनि थप सोलार वार्निङ लाईट जडान गर्ने योजना रहेको छ ।





















प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।